अज्ञात समूहद्वारा यात्रुवाहक बसमा आगजनी

नवलपरासी । पूर्व– पश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको दाउन्नेमा गएराती यात्रुवाहक बसमा आगजनी भएको छ । महेन्द्रनगरबाट काठमाडौं तर्फ आउदै गरेको ना ६ ख ८४५६ नम्बरको यात्रुवाहक बसमा अज्ञात समूहले आगजनी गरेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

आगलागी कसले र किन गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे बिस्तृत अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक हेम बहादुर केसीले जानकारी दिए । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा ४ मा पर्ने खुर्सानी खोला नजिकै गाडिमा आगजनी भएको हो । बसमा आगलागी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बर्दघाटबाट पुगेको प्रहरी टोलीले दमकलको सहायतामा बसमा लागेको आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले बताए । आगलागीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

राती बीच बाटोमै बस बिग्रीएपछि बसमा रहेका यात्रुलाई अर्को गाडीमा काठमाडौं पठाइएको र बिहानीपख आगलागी भएको भन्ने खुल्न आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख लालमणि आचार्यले बताए ।

बसका चालक र सहचालक हालसम्म प्रहरीको सम्पर्कमा नआएकोले उनिहरुलाइ सम्पर्कमा ल्याउने प्रयास भैरहेको समेत आचार्यले बताए । आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनामा संलग्नहरूको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया