इन्द्रजात्राले पर्यटन प्रर्वधनः शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रा अवलोकनमा विदेशी पाहुना आउँदा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताएका छन् । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शाक्यले सो कुरा बताएका हुन् ।

यस वर्षको इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका ६ ओटा देशका १३ वटा नगरबाट पाँच जना मेयरसहित ४५ जना पाहुना आउने भएका छन् । विदेशी पाउना इन्द्रजात्रा अवलोकन गरेसँगै अन्तर्राष्ट्रियरूपमा नै इन्द्रजात्राको चर्चा हुने काठमाडौँ महानगरपलिकाका मेयर शाक्यले बताएका छन् ।

उनले भने, ‘अन्तर्राष्ट्रिय जगतमा इन्द्रजात्राको मौलिक र दार्शनिक पक्षको उजागर गर्न मात्र नभई सभ्यता चिनाउने कामका लागि पनि सबै मिलेर पर्वलाई सभ्य, भव्य र सुसंस्कृत बनाउनुपर्छ । नेवार समुदायको मात्र होइन, यो सबै नेपालीको राष्ट्रिय पर्व हो भन्ने भावना जागृत गराउनु पर्छ ।’

ती विदेशी पाहुनाले चार रात पाँच दिन काठमाडौंमा बिताउने छन् । आउने खर्च आफैँ गरेर आउने छन् भने आवास, खानपान र भ्रमण अवलोकनको खर्च कामपाले गर्ने भएको छ । अवलोकनमा आउने पाहुनालाई ललितपुर महानगरसँगको समन्वयमा पाटन दरबार स्क्वायर, भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर दरबार स्क्वायर र चन्द्रागिरी नगरको समन्वयनमा चन्द्रागिरी क्षेत्रका भ्रमण अवलोकन गराउने कामपाका मेयर शाक्यले बताएका छन् । कामपाले गरेको खर्च पर्यटन प्रवर्धनका लागि भएकोे दाबी गरेका छन् । सो लगानीले पर्यटन वर्षमा सकारात्मक सन्देश दिने उनको भनाइ थियो ।

बिहीबार आउँदैछन् विदेशी पाहुना
चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बंगलादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इस्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउने पत्र प्राप्त भएको छ ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ । यसरी आउने पाहुनाको संख्या ४५ जना हुनेछ ।

बिहीबार काठमाडौं आइपुग्ने पाहुनालाई शुक्रबार हनुमान ढोका आसपास कुमारी रथयात्रा हुने तल्लो र माथिल्लो टोलको स्थलगत भ्रमण अवलोकन गराइनेछ भने मध्याह्न राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथ यात्राको अवलोकन गराइनेछ । भदौ २८ गते चन्द्रागिरी, छाउनीको प्राकृतिक संग्रहालय र स्वयम्भूको अवलोकन गर्ने योजना छ । त्यस्तै २९ गते आइतबार भक्तपुर र पाटन दरबार स्क्वायरको भ्रमण अवलोकन हुनेछ ।

त्यसैगरी समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई पनि सहभागी हुनेछन् । त्यस बिदाइ समारोहमा इन्द्रजात्रासहित उपत्यकाका मौलिक जात्रा र पर्वको पर्यटकीय आकर्षण र नेपाल भ्रमण वर्ष २०२० मा नेपालकातर्फबाट महानगरका भगिनी सम्बन्ध भएका सहरहरूलाई सहभागिताका लागि निमन्त्रणा हुनेछ ।

मंगलबार बिहान ०९ बजेर १७ मिनेटको साइतमा बसन्तपुर काल भैरव अगाडि विधिपूर्वक इन्द्रध्वज (नेपाल भाषामा यः सिं, नेपालीमा लिंगो) ठड््याएपछि यस वर्ष इन्द्र जात्राका कार्यक्रम विधिवत् सुरु भएको छ । यः सिं ठड्याउनु अघि नेवार समुदायभित्रका मानन्धर थरका थकालीले पूजा गरेका थिए । हिजो नै नेवार समुदायका मानिसहरूले काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाए ।

हिजो नै साँझ गणेश र भैरवलाई कुमारी घरमा ल्याइयो । त्यसपछि कुमारी, भैरव र गणेशलाई तलेजु भवानी मन्दिरको मुलद्वारमा लगेर लसकुस गरी भित्र लगेर निम्तो तलेजु भवानीलाई दिइयो । सरकारले भदौ २३ गते एकादशीका दिन आफ्नातर्फबाट गणेश र भैरवलाई इन्द्रजात्रामा सहभागी हुन निमन्त्रणा दिएको थियो ।

यस वर्ष भदौ २७ गते कुमारी रथ यात्रा सुरु गरेर बसन्तपुरबाट तल्लो टोलमा रथ यात्रा गरिनेछ । त्यसक्रममा साँझ साढे चार बजे राष्ट्रपति बसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ । २८ गते माथिल्लो टोलमा रथ यात्रा हुनेछ । यस अवधिमा लाखे, हलचोक भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक विद्यामा आधारित नाचहरू र दशअवतार लगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् ।

भदौ ३१ गते हुने नानिचा यात्रासँगै त्यसै दिन साँझ ९ः३५ को साइतमा इन्द्रध्वज ढालेपछि यस वर्षका लािग जात्राका औपचारिक कार्यक्रमहरू समाप्त हुनेछन् ।

प्रतिक्रिया