संगीतमा रमेका जुजु

काठमाडौं । ससुरालीमा, माझी दाई पोखरा फेवातालको, खैरेनीमा गेट, वनको काफल वनकै चरीलाई जस्ता लोकप्रिय गीतको संगीत संयोजन गरेर एकाएक चर्चामा रहन सफल जुजु गुरुङ अहिलेका व्यस्त एरेन्जर हुन् ।

जन्मथलो लमजुङको भोटेओडारबाट ०४८ सालतिर काठमाडौं आइपुगेका गुरुङले अहिलेसम्म पन्ध्र हजारभन्दा बढी गीतमा धुन भरिसकेको दाबी गरे । उनको संगीत संयोजन रहेको माझी दाई, मिरमिरेमा भाले बासेको, भरिया दाई, मनपर्ने एउटा साली छ, हङकङ आइडीलेलगायत सयौँ गीत चर्चित छन् ।

गीत, संगीतको क्षेत्रमा उनले गरेको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाले सम्मान तथा पुरस्कृत गरेका छन् । उनले यस क्षेत्रमा लागेर निकै राम्रो उन्नति गर्न सकेको बताए । संगीतमै व्यस्त एरेन्जर गुरुङले अहिले पनि दिनमा दुईवटासम्म गीतको एरेन्ज गर्ने जानकारी दिए ।

सानैदेखि मादल, हार्मोनयम र बाँसुरी बजाउन रुचाउने गुरुङ गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा गाउने, बजाउने गर्दागर्दै सांगीतिक क्षेत्रमा जम्न सकेको बताए । सानोमा ठूलो भएपछि कुशल वाद्यवादक बन्छु भन्ने सपना देख्ने गरेको बताउँदै उनले भने, ‘निरन्तर संघर्ष गरेकाले नै म गीत, संगीत क्षेत्रमा स्थापित हुन सफल भएको हुँ ।’

उनको एरेन्जमा गीत गाएका दर्जनौं गायक, गायिका हिट छन् । उनले बिमाकुमारी दुरा, विष्णु माझी, सुनिता दुलाल, लक्ष्मी न्यौपाने, रेखा शाह, देवी घर्ती, पूर्णकला बिसी, गायक मिलन लामा, राजु परियार, रामजी खाँडलगायत दर्जनौं गायक गायिकाले गुरुङको संगीत संयोजनमा स्वर भरिसकेका छन् । उनी भन्छन्, ‘गीत, संगीतको क्षेत्रमा काम गरिरहेको छु । आफ्नो रुचिको विधा भएकाले सन्तुष्ट पनि छु । पर्दा पछाडि बसेर काम गर्नेको चर्चा हुँदैन रहेछ तर पनि खुसी छु ।’

प्रतिक्रिया