गाउँमै सुरक्षित प्रसूति सेवा

मुगु । मुगुमकार्मारोङ गाउँपालिका–६ रिउस गाउँकी २१ वर्षीया पेमाफुटिक लामालाई सुरुमा गाउँमा रहेको सामुदायिक अस्पतालमा आउन डर लागेको थियो । किनभने उनको पेटमा शिशु हुर्कंदै गएको थियो भने उनका गाउँका सबैजना यो भन्दा पहिला घरमा नै परम्परागत रूपमा सुत्केरी हुन्थे ।

५२ घरधुरी रहेको रिउस गाउँमा अहिलेसम्म स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने पेमा फुटिक पहिलो हुन् । गाउँमा स्वास्थ्य संस्था नभएको, स्थानीयको आफ्नै परम्परागत धार्मिक मान्यता रहेकाले कसैले न त गर्भ जाँच गराए न त प्रसूति सेवा नै लिए । गएको हप्ता उनलाई सुत्केरी बेथा लागेपछि वैशाखदेखि सुरु भएको सामुदायिक अस्पताल ल्याइएको थियो । तालिम प्राप्त स्वास्थ्यकर्मीबाट सहजै रूपमा लामाले बच्चा जन्माएपछि उनी मात्र होइन उनका घरपरिवार र गाउँले नै खुसी भए ।

किनभने अहिलेसम्म कसैले पनि स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएनन् । पहिले हामीले गर्भवती हुँदा घरको काम धन्दा नै व्यस्त भयौँ, नजिक स्वास्थ्यचौकी पनि थिएन । र, स्वास्थ्यचौकी जान लाज लाग्थ्यो त्यसैले घरमा नै सुत्केरी हुन्थ्यौँ । अहिले त गाउँमा नै अस्पताल छ वेलावेला गर्भ जाँच हुन्छ र सहजै अस्पतालमा सुत्केरी गराउँछन् पछिल्ला पुस्ता भाग्यमानी छन् लामाकी ५२ वर्षीया सासु कार्मा याङजोम लामाले बताइन् ।

पहिलेपहिले त गाउँमा स्वास्थ्यकर्मी पुग्दा देउता रिसाउने, बुद्ध धर्मअनुसार सुई लगाउँदा, परिवार नियोजन गर्नु पाप हो भन्ने मान्यता रहेको स्थानीयवासी एवं आवासीय विद्यालय पुलुका शिक्षक छिरिङ फुञ्जोक लामाले बताए ।

सबै बौद्ध धर्मावलम्वी भएकाले परिवार नियोजन गर्दा पाप लाग्छ भन्ने गाउँलेको मान्यतालाई तोड्दै सुरुमा नेपालगञ्ज गएर आपूmले स्थायी परिवार नियोजन गरेपछि छिमेकी तथा गाउँलेले कुरा काट्ने गरेको अनुभव सुनाउँदै लामाले भने, ‘अहिले हाम्रै पहलमा गाउँमा पाँच शय्याको अस्पताल बनेपछि गर्भ जाँच गराउने, परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्या बढेको छ ।’

छाया नेपालको आर्थिक सहयोगमा गाउँपालिकाले एक जना तालिम प्राप्त हेल्थ असिस्टेन्ट, एक जना अनमी र एक जना कार्यालय सहयोगी राखेपछि प्रसूति सेवासँगै अन्य स्वास्थ्य सेवा प्रवाह हुँदा स्थानीयवासीलाई बिरामी पर्दा जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटेको वडा–६ का सदस्य मेदोकफुटिक लामाले बताइन् ।

हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजीकरण तथा छाया नेपालको आर्थिक सहयोगमा पाँच शय्याको सामुदायिक अस्पताल निर्माण भई गएको २७ चैतमा गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । अस्पताल उद्घाटन भए यता २ सय ८० जनाले सेवा लिएका छन् । अस्पतालका हेल्थ असिस्टेन्ट हिङ्गखमा राईका अनुसार अस्पताल सञ्चालनमा आएदेखि सुरक्षित प्रसूति सेवा लिने पहिलो पेमाफुटिक भए पनि नियमित गर्भ जाँच, परामर्श सेवा र अस्थायी परिवार नियोजनको (डिपो) साधन प्रयोग गर्ने महिलाको संख्या दिनप्रतिदिन बढ्दै गएका छन् । अस्पतालमा सोलार बत्ती, चिसो तातो पानीको व्यवस्था, सुत्केरी गराउने औजार उपकरण भए पनि जनशक्ति अभाव रहेको राईको भनाइ छ ।

प्रतिक्रिया