उपचार गर्दै गैरस्वास्थ्यकर्मी

बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ अमचारोमा रहेको श्यामा क्लिनिकमा स्वास्थ्यसम्बन्धी तालिम नलिइकनै एक जना स्वास्थ्यकर्मी हुँ भनी बिरामीहरूको उपचार गरिरहेकी छन् । स्वास्थ्यकर्मी हुँ भनी बिरामीहरूको उपचार गर्ने सोही गाउँपालिकाकी स्वास्थ्य संयोजक रामसागर साहकी पत्नी श्यामा साह रहेकी छन् ।

संयोजक साह कार्यालय समयमा कार्यालयमा हुँदा र बाहिर जाँदा श्यामा साहले नै क्लिनिक सञ्चालन गर्दै आइरहेको वर्षांै भएको पञ्चेश्वर गाउँपालिका–४ अमचारोका प्रदीप चन्दले वताए । ‘श्यामा साहले स्वास्थ्यसम्बन्धी कुनै तालिम लिएकी छैनन् सबै प्रकारका बिरामी चेकजाँच गर्छिन्, औषधि दिन्छिन्’, उनले भने । आफ्नाे पत्नी कुनै तालिम नलिएको र तालिम गरेकोजस्तै अनुभव भएकाले यस्तो गरेको संयोजक साहले बताए । तर, यो काम गैरकानुनी भएको संयोजक साहले स्वीकार गरेका छन् ।

फार्मेसी पनि स्वास्थ्यकर्मीजस्तै बिरामीहरूलाई चेकजाँच गरी औषधि बेच्ने हुँदा फार्मेसी सञ्चालक पनि गैरकानुनी काम गरिहेको संयोजकको साहको भनाइ छ । ‘फार्मेसी सञ्चालकले त स्वास्यकर्मीले लेखेको औषधि मात्र बेच्न पाउँछन् । यहाँका फार्मेसी सञ्चालक आफैँ बिरामीलाई चेकजाँच गरी औषधि दिन्छ,’ उनले भने ।

जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने यस्ता गैरकानुनी काम गर्ने जो कोहीलाई पनि कारबाही गर्ने गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । गाउँपालिकामा एक क्लिनिक र एक फार्मेसी मात्र दर्ता गरी सञ्चालनमा रहेका छन् । बाँकी क्लिनिक र फार्मेसी अन्तै ठाउँमा दर्ता गरी सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया