एउटै मञ्चबाट दुई कृति

इलाम । साहित्यकारद्वय डा. देवी क्षेत्री दुलालद्वारा लिखित नाटक ‘काले दमाई’ र कवयित्री बालिका थपलियाद्वारा लिखित कविता संग्रह ‘प्रणयपथ’ सार्वजनिक गरिएको छ । चेतना नाट्य समूहको आयोजनामा भएको कार्यक्रममा दुवै कृतिको प्रा.डा.गोविन्दराज भट्टराईले विमोचन गरे । कार्यक्रममा डा. भट्टराईले निमुखा, सीमान्तकृत र दुःखीहरूको अध्ययन गरेर अबको नेपाली साहित्य क्षेत्रलाई अघि बढाउन आवश्यक रहेको बताए । उनले यस्तो कार्य नेपाली साहित्यमा भर्खरै सुरु भएको बताउँदै भने, ‘यसलाई बिस्तार गरेर अघि बढाउन सकेमात्र साहित्य क्षेत्रलाई माथि उठाउन सकिन्छ ।’ उनले नेपाली साहित्यको विकासमा सबै क्षेत्र लाग्नुपर्ने आवश्यक रहेको बताए ।

डा. दुलालको नाटक काले दमाई १८ औँ कृति हो । कार्यक्रममा नाटक सामाजिक अभियानको बिम्ब रहेकोमा जोड दिँदै समाज रूपान्तरणमा कला र साहित्यको भूमिका अहम् हुनुपर्नेमा वक्ताहरूले जोड दिए । नाटककार डा. दुलालले लेखनका माध्यमबाट काले दमाईको योगदानलाई कृतिमा र समाजमा ल्याइदिएको वक्ताको भनाइ थियो । एक दलित परिवारमा जन्मिएर समाजसेवामा समर्पित काले दमाईको यथार्थ जीवनलाई चित्रण नाटक काले दमाईमा गरिएको छ ।

त्यस्तै कवि थपलियाको ‘प्रणयपथ’ पहिलो कृति हो । संग्रहमा एक सय तीन वटा कविता संग्रहित छन् । संग्रहमा माया, प्रेम, दविएका पीडा, विकृति र विसंगतिको विषयलाई उठान गरिएको छ । ‘प्रणयपथ’ संग्रहले मायाप्रेम र त्यहाँभित्रका वेदनालाई दर्शाउन खोजेको वक्ताहरूले बताए । उनीहरूले नेपाली भाषा र साहित्य समृद्ध पार्न सबैले आ–आफनो क्षेत्रबाट सिर्जनात्मक र रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा युद्धप्रसाद वैद्य, साहित्यकार अञ्जना वस्ती, रविमान लम्जेल, भारत सिलगुडीका साहित्यकार मुक्ति बरालसहित झापा र पाँचथरका दर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा दुवै कृतिका बारेमा साहित्यकार रविमान लम्जेलले टिप्पणी गरेका थिए ।

प्रतिक्रिया