विद्यार्थी छन्, शिक्षक छैनन्

बुटवल । रूपन्देही जिल्लाको मर्चवारी गाउँपालिकामा रहेका प्रायः सबै विद्यालयमा शिक्षकको अभाव रहेको छ । जसका कारण विद्यार्थीको पठनपाठन बर्सेनि प्रभावित बन्दै गएको छ । पालिकामा १५ सामुदायिक विद्यालय र पाँच वटा मदरसा विद्यालय छन् । तत्कालीन सिलवटिया, रायपुर, सेमरा र बगोलीलाई मिलाएर बनाइएको यस गाउँपालिका रूपन्देहीको दक्षिण भेगमा रहेको छ ।

१५ मध्ये पाँच विद्यालय मावी तहका छन् । मावी तहका विद्यालयको अवस्था अन्य विद्यालयको तुलनामा झन् विजोग छ । भैतिक संरचना, शिक्षक, शैक्षिक सामग्रीको अभाव पालिकामा रहेका सबै विद्यालयहरूमा रहेको छ । विद्यालय व्यवस्थापन समिति र त्यहाँ अध्यापनरत शिक्षकले विद्यालयको विकासमा सम्बन्धित निकायले ध्यान नदिएको गुनासो गरेका छन् ।

मर्चवारी गाउँपालिका–२ मा अवस्थित अमवा माविमा ५ सय ६८ विद्यार्थी छन् । जसमध्ये बालविकासमा मात्र ८३ विद्यार्थी अध्ययनरत छन् । तर, ५ सय ६८ विद्यार्थी रहेको विद्यालयमा जम्मा प्रावि तहका तीन शिक्षकको दरबन्दी छ । ०७ सालमा स्थापना भएको विद्यालयमा शिक्षक अभावले पठनपानमा समस्या भएको छ । विज्ञापन गरेरै पनि शिक्षक माग गरे पनि सरकारले शिक्षक दिएको छैन । अमवा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद इशालका अनुसार विषयगत शिक्षक नहुँदा एउटै शिक्षकले सबै विषय पढाउनुपर्ने बाध्यता रहेको छ ।

सोही गाउँपालिका–५ को ओडवलियामा रहेको श्री जनता माविमा कक्षा १२ सम्म अध्यापन हुन्छ । प्रावि तहमा रहेका शिक्षकमध्ये चार शिक्षक विस्थापित भएपछि विद्यालयमा शिक्षकको समस्या भएको छ । ११ सय विद्यार्थी अध्ययनरत विद्यालयमा चार निजी स्रोतका शिक्षक रहेका छन् ।
त्यसैगरी ०१९ सालमा स्थापना भएको ठर्की मावि वडा–६ मा पर्छ । एउटै कक्षामा १ सय २५ विद्यार्थी सम्म राखेर अध्यापन भइरहेको ठर्की मावीमा पनि शिक्षकको समस्या त्यस्तै छ । ‘शिक्षकका लागि गाउँपालिकामा धाउँदा शिक्षक पाउन सकिएको छैन, ठर्की माविका प्राचार्य बलराम यादव भन्छन्, ‘शिक्षक नै नहुँदा गुणस्तरसमेत खस्कँदै गएको छ ।’


त्यसैगरी वडा–३ मा रहेको श्रीमती मनराजी देवी माविमा पनि शिक्षकको अभाव छ । अनिवार्य अवकाश तथा अन्यत्र नाम निकालेर गएकाले यहाँ शिक्षकको समस्या भएको हो । दरबन्दीका शिक्षक पनि विद्यालयमा राखिरहन नसक्दा अध्यापनमा समस्या आइरहेको छ । विद्यालयमा कक्षा १२ सम्म १७ सय विद्यार्थी पढ्छन् । त्यसैगरी वडा–७ बगौलीमा रहेको बगौली माविमा पनि ११ सय विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयमा कक्षा १० मा मात्रै १ सय २५ विद्यार्थी छन् । विद्यालयमा सात शिक्षकको प्रावि दरबन्दी छ । तीमध्ये एक पद रिक्त छ ।

६ जनाले अध्यापन गरिरहेका छन् । निमावि तहमा एक दरबन्दी र सिकाइ अनुदानका एक शिक्षक छन् । धेरै विद्यार्थी भएर पनि शिक्षक अभावले पठनपाठनमा समस्या भएको बगौली माविका प्रध्यानाध्यापक राम सुमिर कुर्मीले बताए । यसरी विद्यालयमा शिक्षक अभाव हुँदा विद्यार्थीलाई अध्ययन गर्न निकै समस्या भएको छ । ‘भौतिक पूर्वाधारसमेत राम्रो छैन्, शिक्षकहरू समेत नहुँदा बर्सेनि पाठ्यक्रम पूरा हुँदैन’, बगौली माविका विद्यार्थी रामकेश यादवले भने ।


मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनिया जिल्ला शिक्षा समन्वय इकाइले नटेरेको बताउँछन् । जनप्रतिनिधि नआउँदा पनि विद्यालयको हालत अहिलेको अवस्थामा रहेको बताउँदै उनले शिक्षामा शिक्षक माग गरे पनि भोलिभोलि भन्दै टारेको उनले बताए । ‘शिक्षकहरूका लागि विज्ञापन गरे पनि परीक्षा गराउन विद्यालय निरीक्षक छैनन्’ उनले भने । उनले कतिपय विद्यालयमा ज्यालादारी शिक्षक राखेर भए पनि अध्यापन गराइरहेको बताए । ‘हामीले शिक्षा कार्यालयमा गएर शिक्षक माग गर्दा ध्यान नै दिएको छैन्, न यहाँ विद्यालय निरीक्षक छन्, न त विद्यालय स्रोतव्यक्ति नै’, उनले भने, ‘बेहाल स्थिति छ ।’

सामाजिक विकास मन्त्री सुदर्शन बराल विद्यालयहरूमा शिक्षक दरबन्दी नभएको स्वीकार गर्छन् । संघीय सरकारले दरबन्दी मिलान टुंगाएपछि मात्र प्रदेशले मातहातका जिल्लामा दरबन्दी मिलान गराउने उनले बताए । ‘एउटा समिति बनाएको छ, संघीय सरकारले दरबन्दी मिलानमा । त्यो समितिले सरकारलाई अझै सुझाव सहितको प्रतिवेदन बुझाएको छैन, त्यो प्रतिवेदन कार्यान्वयन भएपछि बल्ल हामीले प्रदेशमा शिक्षक दरबन्दी मिलान गर्छौं’, उनले भने ।

प्रतिक्रिया