क्षतिग्रस्त विद्यालय पुनःनिर्माण सुस्त

काठमाडौं । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण कार्य भने अपेक्षाअनुसार अगाडि बढ्न सकेको छैन । पर्याप्त मात्रामा जग्गा उपलब्ध नहुँदा र आर्थिक पक्ष सबल नहुँदा काम सोचेअनुरूप अगाडि बढ्न सकेको छैन । पाँच वर्षमा सक्नुपर्ने पुनःनिर्माण साढे ३ वर्ष बितिसक्दा केबल ६० प्रतिशतमात्र सम्पन्न भएको छ ।

पुनःनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भने सहरी र ग्रामीण दुवै क्षेत्रमा जग्गाको अभाव हुँदा विद्यालय भवनको पुनःनिर्माणमा अपेक्षित गति लिन नसकिएको जनाएको छ । शैक्षिक संस्थाको पुनःनिर्माणको जिम्मा प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)लाई दिइएको छ । प्राधिकरण, शिक्षा मन्त्रालय, केन्द्रीय परियोजना कार्यान्वयन इकाई, जिल्ला परियोजना कार्यान्वयन इकाई तथा जिल्ला शिक्षा कार्यालयबीचको समन्वय भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण भइरहेको छ । ०७२ साल फागुन २७ गते स्थापना भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले ०७७ साल फागुनसम्म सम्पूर्ण विद्यालय भवन पुनःनिर्माणको काम सम्पन्न गर्नुपर्ने छ । आयोजनासँग काम सम्पन्न गर्ने समय अब डेढ वर्ष मात्र रहेको छ । अहिलेसम्म आइपुग्दा आयोजनाले ६० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

उपआयोजना निर्देशक दीलिप शेखर श्रेष्ठका अनुसार अहिले पहाडी क्षेत्रमा सडकको पहुँचका कारण निर्माण तीव्र गतिमा अघि बढ्न सकेको छैन । १२ वैशाख २०७२ को भूकम्पले देशका ३१ जिल्लामा ७ हजार ९ सय २३ विद्यालयमा क्षति पु¥याएको थियो । जसमध्ये २१ हजार १ सय ६९ विद्यालयका कक्षाकोठाहरु पूर्ण र १२ हजार र ९ सय ९० कक्षाकोठामा आंशिकरूपमा क्षति पुगेको थियो । हालसम्म ५ हजार ६३ वटा विद्यालयहरु पुनःनिर्माण भइसकेको छ । साथै १ हजार ५ सय १६ वटा विद्यालयहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।

इकार्ईका अनुसार निर्माण गरिएका विद्यालयहरु तीनवटा मोडालिटीमा आधारित छन् । जसमा विद्यालय व्यवस्थापन समिति, निर्माण व्यवसायी र गैरसरकारी संस्थामार्फत पुनःनिर्माणको काम भइरहेको छ । विद्यालय व्यवस्थापन समितिमार्फत ३ हजार ७ सय ९७ विद्यालय भवनको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । त्यस्तै, निर्माण व्यवसायीमार्फत ३ सय ९३ वटा विद्यालय भवनको पुनःनिर्माण कार्य सम्पन्न भइसकेको छ भने गैरसरकारी संस्थामार्फत क्षतिग्रस्त ८ सय ७३ वटा भवन पुनःनिर्माण सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।

भूकम्पीय आपतकालीन सहायता परियोजना (इइएपी) अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगसमेतमा १ सय ३७ विद्यालयको पुनःनिर्माण सुरु गरिएको थियो । अमेरिकी सहयोग नियोग (युएसएआइडी) र जापान सरकारको गरिबी निवारणका लागि जापानी कोष (जेएफपीआर) ८० करोड सहयोग पनि एसियाली विकास बैंकमार्फत नै प्राप्त हुन्छ । युएसआइजी र जेएफपीआरको अनुदान रकममा निर्माण हुने २५ विद्यालयसमेत गरी एसियाली विकास बैंकबाट प्राप्त हुने रकमबाट कुल १ सय ६२ विद्यालयको पुनःनिर्माण सुरु गरिएको थियो । जसमध्ये अहिलेसम्म १ सय ७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया