सायनलाई पद्मश्री, पन्तलाई साधना सम्मान

काठमाडौं । साहित्यकार रमेश सायनको निबन्ध संग्रह ‘छुटेका अनुहार’ ले २०७५ सालको पद्मश्री साहित्य पुरस्कार पाउने भएको छ ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै पद्मश्री साधना सम्मान इतिहासविद् डा. महेशराज पन्तलाई प्रदान गर्ने निर्णय भएको जनाएको छ । हरेक वर्ष प्रदान गरिँदै आएको दुवै पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ ।

सायनको ‘छुटेको अनुहार’ मा आफैँले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको गहिराइसम्म पुगेर अनुभूतिको सूक्ष्म चित्रण गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, संशोधन मण्डलका अभियन्ता महेशराज पन्तलाई पाँच दशकभन्दा लामो समयदेखि नेपाली इतिहास र संस्कृतिलाई प्रामाणिक अनुसन्धान गरेको भन्दै पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिष्ठानले ०६२ सालदेखि नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक समितिले छानेको एक पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । त्यस्तै, २०६७ सालदेखि पद्मश्री साधना सम्मान दिँदै आएको छ । पुरस्कार आउँदो कोजाग्रत पूर्णिकाका दिन प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया