सर्वदलीय बैठक : गणतन्त्र विरोधीविरुद्ध एकजुट हुने

काठमाडौं । प्रतिनिधिसभामा रहेका चार दलले गणतन्त्र, संविधान, लोकतन्त्र र संघीयताको रक्षाका लागि एकजुट हुने निर्णय गरेका छन् । पछिल्लो समय व्यवस्थाप्रति नै आक्रमण हुनेक्रम बढेको भन्दै गणतन्त्रविरोधी क्रियाकलापलाई नियन्त्रणमा लिने सहमति गरेका हुन् ।  प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले दक्षिणपन्थी र उग्रवामपन्थीबाट राज्य प्रणालीमाथि प्रहार हुन लागेको भन्दै प्रमुख राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले गणतन्त्र, संविधान, लोकतन्त्र र संघीयतामाथि आक्रमण भइरहेको भन्दै यसका निम्ति समझदारीसहित अघि बढ्नुपर्ने धारणा राखेका हुन् । तत्कालै त्यस्तो उग्र गतिविधि नदेखिए पनि अगामी दिनमा त्यो देखिन सक्ने भन्दै सबै दल यसमा सजग भएर अगाडि बढ्नुपर्ने बताए । पूर्वराजावादी संघसस्थाहरू राजतन्त्र फर्काउन सक्रिय रहेको बताइरहँदा दलहरू त्यसका विरुद्ध एकजुट हुन तयार देखिएका छन् । आइतबार संसद्मा पनि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ भनेर चेतावनी दिएका थिए ।

दक्षिणपन्थी र उग्रवामपन्थीबाट राज्य प्रणालीमाथि प्रहार हुन लागेको भन्दै प्रधानमन्त्री ओलीद्वारा प्रमुख राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने प्रस्ताव । गणतन्त्र, संविधान, लोकतन्त्र र संघीयताको रक्षाका लागि एकजुट हुनुपर्नेमा विपक्षी दलपनि सहमत

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ करिब साढे दुई घण्टासम्म चलेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले सुरुमै दलहरूबीच सहकार्यको आवश्यकता औँल्याएका थिए । ‘हामी लामो समयसम्म एउटै उद्देश्यले हिँडेका हौँ । समझदारी र सहकार्य अघि बढाउन यो बैठक बोलाएको हुँ’, ओलीको भनाइ उद्घृत गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । ‘हिजो जुन शक्ति र तत्वहरू विस्थापित भएका थिए, तिनीहरूबाट नै केही न केही चलखेल हुन सक्ने भन्नेमा छलफल भयो’, उनले भने, ‘प्रतिगमन हुन्छ भन्ने हाम्रो निचोड होइन । तर, केही खतरा भएको भन्ने हाम्रो निचोड रह्यो ।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीको भनाइको समर्थन गरेको थियो । ‘गणतन्त्र, संघीयता, संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि हामी एकताबद्ध छौँ’, कांग्रेस सभापति शेरबहादुर देउवाले भने ।

उनले विपक्षी दलहरूप्रति असहिष्णु बनेर काहीँ पुग्न नसकिने भन्दै सरकारका काम कारबाहीमै परिवर्तन गर्न आग्रह पनि गरेका थिए । संसद्प्रति पूर्ण उत्तरदायी बन्दै सरकारले ल्याएका विवादास्पद विधेयकहरू फिर्ता लिन देउवाले आग्रह गरेका थिए । बैठकपछि कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले ल्याउने विधेयकमा पर्याप्त छलफल नभएको जानकारी आफूहरूले गराएको बताए । ‘विधेयकबारे हामीले प्रश्न उठायौँ । सच्याउनुपर्ने कुरा सुधार गर्नु जरुरी छ’, उनले भने, ‘प्रधानमन्त्री आफैँले शक्ति हातमा राखेको कुरा उठायौँ । उहाँले हाम्रा कुरा नकारात्मकरूपमा लिनु भएन ।’ नेता सिटौलाका अनुसार प्रधानमन्त्रीका कुरा पनि आपूmहरूले सकरात्मक लिएको बताए ।

बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधनलगायतका विषयमा आफ्नो पार्टीले राखेको माग पूरा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । राजपा अध्यक्ष राजकिशोर यादवले पनि संविधान संशोधनको मुद्दालाई अघि सारेका थिए । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीको नियुक्तिको विषयलाई चाडै नै टुंग्याइने बताए । सर्वदलीय बैठकको छलफलको एजेण्डामा भने प्रवेश भएको छैन । यसविषयमा बुधबार पुन बस्ने बैठकले निर्णय गर्ने बताइएको छ । हिंसात्मक गतिविधि गरेको भनिएको नेत्रविक्रम चन्दसहितका समूहसँग पनि वार्ता थाल्नुपर्नेमा दलहरू सहमत भएका छन् ।

बैठकमा विपक्षी नेताहरूले प्रधानमन्त्रीको स्वास्थ्यस्थितीका बारेमा पनि चासो राखेका थिए । प्रधानमन्त्री ओलीले बाहिर विभिन्न हल्लाहरू आइरहेको भन्दै आफ्नो स्वास्थ्यमा ठूलो समस्या देखा नपरेको बताएका थिए । ‘मृगौला प्रत्यारोपण गरेको पनि छैन, गर्नुपर्ने अवस्था पनि छैन । औषधिहरू मात्रै मिलाउनु परेको मात्रै हो, ८÷१० दिनमा म फर्किहाल्छु’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

प्रतिक्रिया