प्रियंकालाई हटाउन माग

मुम्बई । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडालाई संयुक्त राष्ट्र संघको शान्ति सद्भावना दूतबाट हटाउन माग गरिएको छ । देसी गर्लका रूपमा चिनिएकी उनलाई संयुक्त राष्ट्र संघको शान्ति सद्भावनाबाट हटाउन पाकिस्तानले आग्रह गरेको हो । यतिवेला उनको शान्ति सद्भावना दूतमाथि प्रश्नचिन्ह खडा भएको छ ।

उनले केही दिनअघि लस एन्जल्समा भएको ब्युटिकोन फेस्टिबलमा पाकिस्तानी महिलाले सोधेको प्रश्नमाथि दिएको उत्तरबाट शान्ति सद्भावना दूतबाट हटाउन माग गरिएको हो । त्यत्तिवेला प्रियंकाले बोलेको विषय विवादास्पद बन्दै गएपछि पाकिस्नाती मानवअधिकार मन्त्री शिरिन मजारीले प्रियंकालाई सद्भावना दूतबाट हटाउन माग गरेका हुन् ।

मन्त्री मजारीले प्रियंकाले युद्धोन्माद फैलाएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘युनिसेफले तुरुन्त प्रियंका चोपडालाई राजदूत पदबाट हटाउनुपर्छ । किनभने उनले भारतीय सेना र खराब मोदी सरकारलाई समर्थन गरेकी छन् । उनलाई हटाइएन भने यस्तो नियुक्ति एक तमासा बन्न जान्छ । मर्यादित पदमा कस्ता व्यक्ति नियुक्त गरिएको छ भन्नेबारे युनिसेफले यस कुराको ख्याल गर्नुपर्छ ।’

पाकिस्तानका मन्त्रीको असन्तुष्टि अभिनेत्री प्रियंकाले एक पाकिस्तानी महिलालाई दिएको जवाफको प्रतिक्रियाको रूपमा आएको छ । आयशा मलिक नामक ती पाकिस्तानी महिलाले पुलवा हमलापछि प्रियंकाले भारतीय वायुसेनाको पक्षमा ट्विट गर्दै पाकिस्तानविरुद्ध परमाणु युद्धको खतरालाई बढाइदिएको आरोप लगाउँदै उनले प्रियंकाले यस्तो नगर्नुपर्ने धारणा राखेकी थिइन् ।

उनले प्रियंकालाई सम्बोधन गर्दै भनेकी थिइन्, ‘तपार्इं राष्ट्र संघको शान्तिका लागि सद्भावना दूत हुनुहुन्छ । तर, तपार्इं पाकिस्तानसँग आणविक युद्ध होस् भनेर अभिव्यक्ति दिइरहनु भएको छ । तपार्इं यस्ता कुरामा अल्झिनु हुँदैन । म पाकिस्तानी हुँ, मजस्तै लाखौंले तपार्इंको कामलाई साथ दिएको छ ।’

आयशालाई जवाफ दिँदै प्रियंकाले भनेकी थिइन्, ‘पाकिस्तानमा मेरा धेरै साथी छन्, म भारतबाट हो । युद्ध मलाई पनि मन पर्दैन । तर, म देशभक्त मानिस हुँ । यदि मैले कसैको चित्त दुखाएको छु भने मलाई माफ गर्नुहोला । तर, मलाई लाग्छ हामी सबैले हिँड्ने माध्यम बाटो हुन्छ, जुन तपाईंको पनि छ । तपार्इंले जसरी मलाई प्रश्न गर्नु हुँदैछ, हामी यहाँ चिच्याउन आएका होइनौँ । प्रेम बाँड्न आएका हौँ ।’

प्रतिक्रिया