जनैपूर्णिमा पर्वको उपादेयता

जनैपूर्णिमाका दिन प्रातकालमा उठी नदी, कुवा, इनार, धारा आदि गएर दतिवन लगाई सेतोमाटो, गोबर र खरानी अंगमा दलेर स्नान गर्नुपर्ने विधान छ । त्यसपछि अरुन्धतीसहित कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वसिष्ठ र विश्वामित्र यी सप्तर्षिहरूको पहिले पूजा गर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । जनैपूर्णिमा भगवान् शिवलाई आराधना गरिने दिनको रूपमा र शुद्ध जनै बदल्ने दिनको रूपमा समेत लिइन्छ 

श्रावण शुक्ल पूर्णिमाको दिनलाई जनै पूर्णिमा तथा श्रावणी भनिन्छ । ऋषिहरूको तर्पन गरिने दिन भएको हुँदा ऋषितर्पणी पनि भनिन्छ । जनै फेर्ने दिन भएकोले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ । मलमास परेको वर्षमा मात्र भाद्र जनै पूर्णिमा शुक्ल पूर्णिमाको दिन पर्न आउँछ । यस दिनलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ । शास्त्रको विधिबमोजिम ब्राम्हणहरूद्वारा स्त्रोत वा मन्त्र पढाउन लगाई हातमा रक्षाबन्धन बाँध्न लगाउने चलन छ ।

रक्षाबन्धनलाई परम्परागत रूपमा ब्राह्णहरू डोरो बाँध्ने र दिदीबहिनीहरूले दाजुभाइहरूलाई राखी बाँध्ने पर्वका रूपमा मात्रै सीमित नराखी यसले दिन खोजेको व्यापक अर्थलाई जानेर स्वयंलाई परमात्माले प्रतिपादन गरेका उच्च मूल्य मान्यता, संयम, यम, नियमलाई जीवनमा सहर्ष स्वीकार गरी परिपालन गर्नाले मानिसको वास्तविक रक्षा हुनेछ । त्यसैले होला हातमा बाँधिने रक्षाबन्धनबाट रोगव्याधि, अनिष्ट र संकट नाश गरी स्वास्थ्यको रक्षा गर्दछ भन्ने विश्वास गरिन्छ ।

कुनै पनि देशले आफ्ना पारम्परिक धार्मिक वा सांस्कृतिक निधिहरूलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । संक्षेपमा भन्नु पर्दा त्यो नै त्यस देशको सांस्कृतिक गतिविधि त्यहाँको सामाजिक प्रतिविम्व हो । यसरी पूर्वजहरूले सामाजिक धरोहरको रूपमा छोडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो । एक पक्षबाट हेर्दा यो केवल तागाधारीको मात्र पर्व हो की भन्ने लाग्छ, परन्तु त्यसो होइन । अतागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ ।

अतः गैर–तागाधारीले वैदिक मन्त्ररहित भई स्नान, दान, ऋषिपूजन आदि गर्नु हुन्छ भन्ने वर्णन भविष्यपुराणमा उल्लेख भएको कुरा हेमाद्रिमा उल्लेख भएको पाइन्छ । यसमा जनै फेर्ने कुरा के छ भने जनै कहिले र कति समयसम्म लगाउनुपर्छ ? भन्ने शास्त्रीय विधानको श्लोकलाई प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ । “सूतके मृतके चैव गते मांसचतुष्टये । नवयज्ञोपवीतानि धृत्थजीर्णानिसंत्यजेत् ।।” यसको अर्थ हो जूठोसूतक परेमा वा चार महिना बितेपछि नयाँ जनै फेरेर पुरानोलाई फाल्नु पर्दछ ।

जनैपूर्णिमाका दिन प्रातकालमा उठी नदी, कुवा, इनार, धारा आदि गएर दतिवन लगाई सेतोमाटो, गोबर र खरानी अंगमा दलेर स्नान गर्नुपर्ने विधान छ । त्यसपछि अरुन्धतीसहित कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वसिष्ठ र विश्वामित्र यी सप्तर्षिहरूको पहिले पूजा गर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । जनैपूर्णिमा भगवान् शिवलाई आराधाना गरिने दिनको रूपमा र शुद्ध जनै बदल्ने दिनको रूपमा समेत लिइन्छ । श्रावणी पूर्णिमा नेपालमा प्राचीन कालदेखि नै प्रचलित हुँदै आइरहेको एक पावनतम पर्व मानिन्छ । जुन रक्षा अर्थात् ‘ राखी ’ यो पर्वमा मित्रहरू एक–दोश्रोलाई बाँध्छन् बहिनीहरू प्रेमले आफ्ना भाइहरूलाई बाँध्छिन् र ब्राम्हणहरू अन्य वर्गका मानिसहरूलाई बाँध्दछन् । त्यो यथार्थमा सर्प अर्थात दुष्टजनबाट त्राण पाउनका लागि, तिनीहरूको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीकस्वरूप प्रण थियो ।

पुराणअनुसार रक्षाबन्धन पर्वको पृष्ठभूमि पनि त्यहि नै छ । नयाँ जनैलाई विधिवत् पूजा गर्दा प्रथमतः संकल्प वाचन र त्यसपछि तर्पणको विधि हुन्छ । बैकुण्ठवासी गुरू, पितृ, ऋषिहरूलाई सश्रद्धा संस्मरणको उद्देश्यको लागि तर्पण कार्य गरिन्छ । यसरी हामीले धारण गर्ने जनै अर्थात् एकमा तीन डोरा हुन्छ । मानिस देवऋण, पितृऋण, ऋषिऋणबाट मुक्त हुनुपर्ने शास्त्रीय मान्यताको निमित्त उक्त तीन डोरा सांकेतिक रूपमा देखाइएको बताइन्छ । सो डोरोमा ॐ कार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम र विश्वदेवको वास हुने मान्यता छ । साथै तीन डोरालाई ब्रम्हा, विष्णु, महेश्वरको प्रतीक मानिन्छ । यसै पूर्णिमामा नेवार समुदायमा भ्यागुताको पूजा गर्ने प्रचलन रहिआएको छ । यस दिन भ्यागुताको लागि खेतमा कुनै एक ठाउँमा भात राखिदिएर ब्याँजा नकेगुपुन्ही को रूपमा मनाउने चलन छ । भ्यागुताले राति टर–टर आवाज निकाल्दा इन्द्र महाराजाको निन्द्रा बिउँझिदा इन्द्रले पानी पारेको विश्वासमा भ्यागुताको पूजा गर्ने प्रचलन रहेको जनविश्वास छ ।

हाम्रो देशमा विभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषी, बस्ने भएको हुनाले हरेक दिन एउटा न एउटा चाडपर्वहरू पर्ने गरेको पाइन्छ । त्यस्तै गरी जनैपूर्णिमा पनि एक महत्वपूर्णको चाड हो । कुनै पनि धार्मिक सांस्कृति पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाजअनुसार नै ठ्याम्मै अनुशरण गर्न हामी सक्छौँ वा सक्दैनौँ ? यौटा महत्वपूर्ण प्रश्न हामीसामु छ । विज्ञान र प्रविधिको विकास सञ्जालले घेरिएको आजका व्यस्त मानिससहरूलाई धार्मिक परम्परामा पूरै बाँधिएर बस्न सीमा र व्यावहारिक कठिनाइहरू छ्यापछ्याप्ती छन् ।

अतः साँच्चै बोझ, बन्धन कर्सैलाई पनि मन पर्दैन किनकि यसमा मानिसलाई सुख, शान्ति र खुसीको अमनचयन प्राप्त हुँदैन तर रक्षाबन्धन मर्यादाको मीठो बन्धन हो जसले हामीलाई पवित्रता, स्वअनुशासन र संयमको लक्ष्मण रेखाभित्र राख्ने काम गर्दछ । नियम, मर्यादाको सीमारेखाभित्र रहँदा मानिस सुखी हुनुका साथै जीवनमा सफलता पनि हासिल गर्न पुग्दछ । त्यस्तै गरी रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ । अधि दानवहरूबाट पीडित देवगणहरूले अभिमानी असुरहरूको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरू बृहस्पतिसामु हारगुहार मागेपछि गुरू बृहस्पतिले विशेष रक्षाकवचको रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरू बृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानवहरू पराजित भै देवताहरू सुरक्षित रहेको प्रसंग र संस्मरणस्वरूप रक्षा धागो गुरूका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो

। यो पर्र्व सर्वश्रेष्ठ धर्मको रूपमा संसारभरि परिचित छ जसले गर्दा हाम्रो धर्ममा पनि केहि त्रुटिहरू छन् भने आध्यात्मिक जागरणको नाममा गलत संस्कार, छुवाछुत र रूढिवादीलाई निर्मूल गरिनुपर्दछ भन्ने पनि हो । समाजमा विद्यमान रहेका कुसंस्कारलाई हटाई सनातन धर्मबाट चलिआएको संस्कारलाई अगाल्नु समय सापेक्षिक हुनजाने छ । यस अर्थमा हिन्दूधर्मलाई अझै अगाडि बढाएमा हाम्रा चाड पर्वको महत्व अझै बढ्ने कुरामा कसैको दुईमत नहोला ।

प्रतिक्रिया