गीतमा मनोरोगीको वेदना

कास्की । नजिकिँदो तीजलाई लक्षित गरी पोखरेली चेली अम्बिका ढकालले मनोरोगीको वेदनालाई तीज गीतमार्फत प्रस्तुत गरेकी छन् ।

बजारमा अहिले तीजको मर्मविपरीतका गीत बजेर रमझम बढिरहेका वेला ढकालले सामाजिक विषयवस्तुलाई जोडेर गीत ल्याएको जनाइन् । उनले तीजसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरूको वेदनालाई गीतमा उधिनेको बताइन् ।

सामाजिक तथा साहित्यिकमा कलम चलाउँदै आएकी ढकालले सामाजिक परिवर्तन र सचेतनाका लागि गीत संगीतको भूमिका महत्वपूर्ण हुने जिकिर गरिन् । मानसिक रूपमा अस्वस्थ भई खुला आकाशमुनि जीवन बिताउन बाध्य भएका महिलाको दयनीय अवस्थालाई भिडियोमार्फत उजागर गर्न खोजिएको उनले सुनाइन् ।

उनले भनिन्, ‘विभिन्न प्रतिकूल परिस्थिति र घरेलु हिंसाले मानसिक सन्तुलन गुमाउन पुगेका महिलाप्रति गरिने हेय दृष्टिलाई बदल्नुपर्ने र असहायलाई सहारा दिएर उपचार गर्नुपर्ने विषयलाई म्युजिक भिडियोले समेटिएको छ ।’ उनले मनोरोगीहरूको मानवअधिकारलाई राज्यस्तरबाटै सम्बोधन गर्नुपर्ने विषय गीतले समेटेको दाबी गरिन् ।

उनले भनिन्, ‘तीज पर्व खाने लाउने मात्र नभई गीत संगीतको पर्व पनि हो । यसको महिमा विशेषगरी संगीतसँग जोडिएको छ ।’

ढकालले परापूर्वकालमा दबाएर राखिएका आवाजहरू तीजमा गीतको माध्यमबाट दिदीबहिनीले पोख्दै मन हलुका बनाएको बताइन् । उनले पहिले पहिले सासूबुहारीका रोदनका कथाहरू तीजका गीतमा सुनाइने बताउँदै भनिन्, ‘अहिले समय बदलिएको छ । अब सशक्तीकरण र महिला अधिकार, हिंसाविरुद्धका आवाजलाई बाहिर ल्याउनुपर्छ, सामाजिक न्याय र समानताका लागि आवाज उठाउनुपर्ने वेला आएको छ ।’

गीतको भिडियोलाई अभिनेत्री करिश्मा मानन्धरले सार्वजनिक गरिन् । पोखरा आसपासका सडकमा छायांकन गरिएको उक्त भिडियोमा कलाकार प्रसुना भण्डारी, अमृता अधिकारी, अम्बिका ढकाल, सरिता पंगेनी, रेनु थापा, तेजेन्द्र पौडेल, कृष्ण भट्टराईलगायतको अभिनय छ ।

प्रतिक्रिया