खडुली पाटनमा भक्तजनहरूको घुइँचो

बाजुरा । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल खडुली पाटनमा झक्तजनहरूको घुँइचो लागेको छ । मंगलबारबाट अवलोकन गर्ने तीर्थालु भक्तजनहरूको यहाँ बाक्लो उपस्थिति भएको हो ।

समुन्द्र सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइमा अवस्थित खडुली पाटनसँगै साँइऋषि, कार्तिकेय अर्थात कत्तश्यामको मन्दिरसमेत यसै क्षेत्रमा रहेको छ । खडुली पाटनदेखि मुगुको खेसमालिका देवी, कोल्टीस्थित बुढीनन्दा देवी, बडीमालिका देवी र सुनन्दा देवीको मन्दिर रहेको स्थानको समेत अवलोकन गर्न सकिन्छ । दर्जनौँ सुगन्धवाल फूलको अत्तरसँगै डाँफे, कालिज, कस्तुरी, मृग, घोरल र घोडालगायत पशुपंक्षीले वन विहार र क्रिडा गरिरहेको सुन्दर दृश्यले अझ धेरैलाई लोभ्याउने हुँदा यो क्षेत्रमा दर्शन गर्न जाने तीर्थयात्रीको बाक्लो उपस्थित हुने गरेको छ ।

यस क्षेत्रमा तीतो, कटुकी, गधार्नु, चुकी, पाटनी लसुन, साथै विखलगायत दर्जनौँ प्रकारका जडिबुटी, विभिन्न प्रजातिका रुख, बुट्यानको समेत अवलोकन गर्न पाइने खडुली पाटनमा यो सिजनमा स्थानीय गोठालाहरूले गाईभैँसी चराउनसमेत लगेका हुन्छन् । सत्ययुगमा भगवान् शिवले सतिदेवीको मृत शरीर बोकेर भौँतारीरहेको अवस्थामा उक्त खडुली पाटन क्षेत्रमा सतिदेवीको वायाँ कुमको केही भाग पतन भएर शक्ति पीठ बनेको किम्वदन्तीसमेत रहेको छ ।

खडुली जाँदा कर्णाली नदीको किनार तथा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका हिमाली, जगन्नाथ र स्वामीकात्तिक गाउँपालिकाको बीचमा अवस्थित पिलुपादुका हुँदै स्वमीकात्तिक खापर–४ वाईमा रहेको लाटोबाहुनको मन्दिर, थर्पु दरवारको भग्नावशेष, जुकोटस्थित भैरवनाथ मन्दिर, नैन्याल गुफा, सैदेवमा रहेको माई सुनन्दाको मन्दिर, कात्तिकस्वामी मन्दिर, खुन्का दह, राताकोट शिम्भुनाथ स्थान, जुवान्ना बाज्याको थान हुँदै खडुल्ली पाटन पुग्न सकिन्छ ।

त्यस क्षेत्रमा अवस्थित विभिन्न धार्मिकस्थलहरूको दर्शन गर्नाले भक्तजनको मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । यस क्षेत्रमा मुख्य गरेर जनैपूर्णिमामा भव्य मेला लाग्ने गर्दछ भने नयाँ वर्षको बेला खडुली पाटनमा स्थानीय महिलाहरू, फूल टिप्न जाने गर्दछन् । पर्यटकीय सम्भावनाको खानीका रूपमा रहेको खडुली पाटनमा बाजुरा, हुम्ला, कालिकोट, मुगु, जुम्ला, बझाङलगायत भारतका कतिपय स्थानबाट समेत मानिसहरू आउने गर्छन् ।

यातायातको असुविधा, कठिन तथा लामो यात्रा, कतिपय स्थानमा खान बस्नको स्वयं आफैँले व्यवस्था गर्नुपर्ने भएका कारण यहाँका धार्मिक स्थलमा सजिलै पुग्न कठिनाइ उत्पन्न हुने गरेको छ । पछिल्लो समय भने आन्तरिक पर्यटकहरू यस क्षेत्रमा बढ्न थालेको पत्रकार अनिल शाहीले बताए । पाटनको अवलोकन गर्न, फूल टिप्न, जडिबुटी कोर्न स्थानीयवासी जाने गरेको पत्रकार शाहीको भनाइ छ । पदयात्रा गर्न चाहाने र प्रकृतिका छटाभित्र आफूलाई भुलाउन चाहानेका लागि यहाँसम्मको यात्रा त्यति कठिन भने नभएको वाईका जनम धामीको अनुभव छ ।

प्रतिक्रिया