वडाध्यक्षको पनि मर्यादाक्रम तोक्न माग

काठमाडौं । गाउँपालिका महासंघले वडाध्यक्षलाई पनि मर्यादाक्रममा अटाउन माग गरेको छ । चितवनको सौराहामा साउनको २५ र २६ गते बसेको बैठकपछि जारी घोषणापत्रमा सो माग उल्लेख छ ।

घोषणापत्रमा यो सँगै नगर विकास समितिलाई विस्तारित गरी गाउँपालिकासम्म पु¥याउन माग पनि गरिएको छ । नगर र गाउँपालिकाबीच जनसंख्या तथा पूर्वाधारका सूचकमा खासै भिन्नता नभएकाले नगर विकास समितिलाई गाउँपालिकासम्म विस्तार गर्नुपर्ने घोषणापत्रमा तर्क छ । यस्तै सडक विकास बोर्डमा गाउँपालिका प्रतिनिधि पनि समावेश गर्नुपर्ने कुरा घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा नेपाल सरकारले ‘एक वडा एक कृषि तथा पशु प्राविधिक’ अवधारणा अनुसार दिइँदै आएको अनुदानमा चालु आवमा अत्यन्त न्यून मात्र श्रोत व्यवस्थापन गरेकाले आन्तरिक आयको बलियो व्यवस्था नभएसम्मको लागि सो कार्यक्रममा बजेट बढाउन माग रएको छ । संघीय सरकारबाट स्थानीय सरकारमा हस्तान्तरण हुनुपर्ने राजश्व र प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी बाँडफाँटका पारदर्शी बनउनाका साथै समयमै निकासा गर्न घोषणापत्रले ध्यानकर्षण गराएको छ ।

महासंघले गाउँपालिकामा रहने प्रमुख प्रशासकीय अधिकृतहरूको छिटो–छिटो हुने सरुवाको कारण कार्यसम्पादनमा गम्भीर असर परेको उल्लख गर्दै प्रमुख प्रशाकीय अधिकृतको सम्बन्धित स्थानीय तहमा रहने अवधि तोक्न घोषणापत्रमा माग गरिएको छ । स्थानीय तहले पाएको साझा अधिकारका सूचीमा समावेश अधिकारहरू कार्यान्वयन गर्न आवश्यक कानुन छिटै बनाउन पनि महासंघले घोषणापत्र मार्फत सरकारसँग माग गरेको छ । घोषणापत्रमा जिल्लास्थित कार्यालयहरू स्थानीय तहमा समायोजन भइसक्नु पर्नेमा दुई वर्ष बितिसक्दा पनि हुन नसकेकामा चिन्ता व्यक्त गर्दै अविलम्ब समयोजन गर्न माग गरिएको छ ।

सौराहामा बसेको गाउँपालिका महासंघको सो विस्तारित बैठकमा स्थानीय सरकार सञ्चालनका विषय, कार्यसम्पादनको अवस्था तथा प्रदेश एवं संघीय सरकारले गर्नुपर्ने सहजीकरणका बुँदाहरूमा गहन छलफल भएको थियो ।

प्रतिक्रिया