लाखेनाचमा झुम्याे दिक्तेल

खोटाङ । नेवार समुदायमा परम्परादेखि चलिआएको लाखेजात्राको संरक्षण स्थानीय एकजुट भएका छन् । यस सन्दर्भमा छिमेकी जिल्ला ओखलढुंगाका नेवार समुदायले खोटाङको दिक्तेलबजारमा लाखेनाच प्रदर्शन गरेका हुन् । ओखलढुंगाको पारस्पारिक सहयोगी गुठी रामपुरबजारका नेवार समुदायले दिक्तेलमा लाखेनाच प्रदर्शन गरेका हुन् ।

उनीहरूले परम्परागत सांस्कृतिक झाँकीसहितको लाखेनाच प्रदर्शन गरे । १४ साउनदेखि सुरु भएको लाखेजात्राको अवसरमा दुई जिल्लाका नेवार समुदायको संयुक्त प्रस्तुतिले दिक्तेलबजारका दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको थियो ।

दिक्तेलबजार सामाजिक गुठीका सचिव नुरकाजी सैंजूले आफ्नो संस्कार, संस्कृति, भाषा तथा परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ दुई जिल्लाका नेवार समुदायले कार्यक्रमको आयोजना गरेको बताए । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका नगरप्रमुख होमन श्रेष्ठको रोहवरमा दुई जिल्लाका संस्थाबीच आगामी दिनमा भगिनी सम्बन्ध कायम राख्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरिएको सैंजूले जानकारी दिए ।

महिना दिनसम्म मनाइने लाखेजात्राको सन्दर्भ पारेर जिल्लामा विविध कार्यक्रमको आयोजना गरिएको आयोजक दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष राजन सैंजूले बताए । उनले भने, ‘गठेमंगलको दिनबाट विधिवतरूपमा शुरू भएको लाखेजात्रा कृष्णजन्माष्टमीको भोलिपल्ट औपचारिकरूपमा समापन गरिन्छ । यसबीचमा वर्ष दिनभरि दिवंगत भएका आफन्तलाई श्रद्धाञ्जलि, रोपाइँजात्रा, हिलेजात्रा तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गर्ने तयारी गरिएको छ ।’

उनका अनुसार दिक्तेलमा मनाइने लाखेजात्राको मुख्य आकर्षण मुखुण्डोधारी लाखेनाच हुन्छ । उनले थपे, ‘ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराको नक्कल गर्दै मुखुण्डोधारी लाखेनाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् ।’ लाखेजात्राले सांस्कृतिक, धार्मिक महत्वसँगै नेवार र गैरनेवार समुदायबीच आपसी भाइचारा तथा भातृत्व कायम गर्ने पर्वका रूपमा स्थानीयले लिएको अध्यक्ष सैंजूले जनाए ।

लाखेजात्राको अवसरमा नेवार समुदायको घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने चलन छ । आफन्तजन, इष्टमित्र, साथीभाइलगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने गर्छन् । अध्ययन, जागिर तथा विभिन्न पेसा÷व्यवसायका क्रममा घरदेखि टाढा रहेका परिवारका सदस्य पनि लाखेजात्राको अवसरमा एक ठाउँ भेला हुने गरेका छन् ।

प्रतिक्रिया