काठमाडौँ । सबैभन्दा बढी समयसम्म युगल नृत्य गरेर नेपाली चेलीले विश्व रकर्ड राख्न सफल भएका छन् ।
४१ घन्टा ५ मिनेट निरन्तर युगल नृत्य गरेर रूविशा र एलिशा श्रेष्ठले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका हुन् । गिनिजका अनुसार बुधबार आफ्नो आधिकारिक मेलमार्फत लगातार ४१ घन्टा ५ मिनेट गरेको नृत्यको प्रमाणपत्र पठाएसँगै उनीहरू विश्वकै लामो समय नृत्य गर्ने युगल जोडी बनेका हुन् ।
काठमाडौँ चन्द्रागिरी नगरपालिकाका उनीहरूले गत ११ जेठमा गिनिज इभेन्ट्स नेपालको आयोजनामा स्वयम्भूको क्वालिटी क्याफेमा लगातार ४१ घन्टा ५ मिनेट नृत्य गरेका थिए । ‘यस खालको कार्यले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण विश्वमा सकारात्मक पर्नेछ । त्यस्तै, आमयुवायुवतीमा पनि केही गर्न र अघि बढ्न सकिन्छ भन्ने भन्ने उदाहरण पनि बन्दछ,’ गिनिज इभेन्टस् नेपालका अध्यक्ष तथा मोटिभेसन स्पिकर सन्तोष लामाले भने । उनले आगामी दिनमा हाम्रो गिनिज इभेन्ट्स नेपालले यस्तै कार्यहरूबाट नेपाललाई ठूलो योगदान पनि पु¥याउनेमा आफू विश्वस्त भएको बताए ।
रेकर्ड राख्न सफल नृत्यकार एलिशाले नृत्य गर्दा एकदमै गाह्रो भए पनि सफलता पाएपछि खुसी मिलेको बताइन् । उनले भनिन्, ‘अनेक दुःख गरेर नाच्न त नाँचियो, त्यसपछि पनि झिनो डर भने बाँकी नै थियो । प्रमाणपत्र आउँछ कि आउँदैन भनेर । तर, हामीले मिहिनेतको फल पाएका छौँ । हामी खुसी छौँ । मिहिनेतको फल साँच्चिकै मिठो हुँदोरहेछ ।’ यसअघि सो विधामा अमेरिकाका ग्रेट र जेनिफरले ३८ घन्टा ३० मिनेट युगल नृत्य गरेर रेकर्ड राखेका थिए ।
प्रतिक्रिया