केब्स स्कूलमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रामेछाप । रामेछाप मन्थली नगरपालिका–१ स्थित केब्स बोर्डिङ स्कूलले अन्तराष्ट्रिय आदिवासी, जनजाति दिवसको अवसरमा स्थानिय भेषभुषा, भाषा, संस्कृति र कलाका विद्यार्थीहरुद्वारा विशेष प्रस्तुती तथा प्रदर्शनीसहित संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु तथा बौद्ध धर्म परम्परामा महत्वपूर्ण मानिने कार्यक्रममा केब्स स्कूलमा अध्ययनरत करिब ७ सय विद्यार्थी तथा शिक्षकहरु आ–आफ्नो जातिय र सांस्कृतिक भेषभुषासहित उपस्थित भएका थिए ।

हालका दिनहरुमा विश्वव्यापीरुपमा स्थानिय भाषा, संस्कृति तथा कलामाथि संस्कृतिको नकारात्मक प्रभाव व्याप्त भएकाले ती स्थानिय संस्कृतिको संरक्षण गर्न र सचेतना जगाउने उद्येश्यले उक्त कार्यक्रमको आयोजना गरिएको स्कूलका प्राध्यापक केशव तिमल्सिनाले बताए । सो प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरुद्वारा माझी, तामाङ, मगर, नेवार, सुनुवार लगायतका स्थानिय जातजातिका जीवनशैली झल्काउने स्थानिय प्रविधि, भेषभुषा, गीत, नृत्य तथा कविताहरु प्रस्तुत गरिएको थियो ।

सयौँको संख्यामा स्थानिय समुदाय, अभिभावक र छिमेकी विद्यालयका विद्यार्थीहरुको समेत उपस्थिति रहेको उक्त समारोहलाई सम्बोधन गर्दै स्कूल सञ्चालक शिवराज श्रेष्ठले नयाँ पुस्तामा देखिएको आफ्नो जातिय तथा परम्परागत पेशा प्रतिको वितृष्णालाई यस कार्यक्रमले हदसम्म कम गरि आफ्नो मौलिक पहिचानप्रति गौरव गर्न बालबालिकाहरुलाई प्रेरित गरेको बताए ।

साथै उनले केब्स स्कूलले समाज रुपान्तरणका लागि विद्यार्थीहरुलाई सदैव अग्रसर गराउने खालका प्रभावकारी कार्यक्रमहरु गरिने बताए । सो कार्यक्रम अवलोकन पश्चात् केब्स स्कूलले प्रशंसा योग्य कार्य गरेको प्रतिकृया उपस्थित स्थानिय समुदायका व्यक्तिहरुले दिए ।

प्रतिक्रिया