‘रअ’का प्रमुखको आगमन र ज्ञानेन्द्रको चुरीफुरी

डा. बद्रीविशाल पोखरेल

भारतीय गुप्तर संस्था ‘रअ’का प्रमुख समन्त गोयल हालै नेपाल आएर फर्किएपछि नेपाली राजनीति धमिलिन थालेको देखिन्छ । उनको आगमनपछि पूर्व राजा ज्ञानेन्द्रको अस्वाभाविक तथा भद्दा नाटकीय चहलपहल सुरु भएको देखिन्छ 

अभूतपूर्व मौका परेर वा पारेर ज्ञानेन्द्र शाह पूर्व राजा वीरेन्द्रको कहाली लाग्दो वंश विनाशपछि संयोगले राजा त भए यो सुनौलो मौकाको समयमै सदुपयोग गर्न नसकेर उनी पूर्णरूपमा असफल भए । मौकाले कसैलाई पनि पखिँदैन, बगेको खोला फर्किँदैन । बिहे गरिसकेपछि पछुताउनुको कुनै अर्थ छैन । दिँदा नखाने अनि राती राती कोल चाट्ने चरित्र ज्ञानेन्द्र शाहको देखिन्छ । यस्तै चरम अस्थिर नेपाली राजनीतिक चरित्र र चिन्तनका कारण यो देश बाह्य षडयन्त्रको चक्रव्यूहमा पर्ने गरेको हो ।

यस्तै कुराले गर्दा बाह्यशक्तिले नेपालमा बारबार खेलेर देशलाई ओरालो र भिरालोतिर घिसार्न सफल भएको हो । अब उनीहरू अहिले सफल भए भने यो देश कहिल्यै नउठ्ने गरी रसातलमा भासिने स्थिति देखिन्छ । के.पी.शर्मा ओली नेतृत्वको नेकपाको दुईतिहाई सरकारले मुलुकमा शान्ति,सुव्यवस्था,समृद्धिका आधार तयार पार्न थालेपछि र विगतदेखिका भष्टाचारहरू खोजतलास गर्न थालेर मैलो राजनीतिलाई सङ्लो बनाउन थालेपछि देशी र विदेशी षडयन्त्रकारी शक्तिहरू हतास मनस्थितिमा रहेका हुन् ।

यस्ता कुरालाई नेकपाका केही नितान्त निजी चरम असन्तुष्ट,अद्वन्द्ववादी तथा उग्र चिन्तन पक्षधर नेताहरूका सरकार विरोधी मत र मान्यताले पनि यसमा मलजल गरेको देखिन्छ । बेलाको बोली र मौकाको काम बोल्न र गर्न नजान्दा नेपाली राजनीति फन्दामा परेको देखिन्छ । नेपालका राजादेखि नेतासम्मका सबैजसो विदेशी र बाह्य प्रभावमा परेर प्यादा भएका धेरै उदाहरण छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले दिल्ली एयरपोर्टमा दक्षिण एसियाका महान् नेता भनेर दुवै हातले गम्लंग अँगालो हालेर घनिष्ट आत्मीयता प्रदर्शन गर्दै हार्दिक स्वागत गरेका थिए । तर, निवर्तमान प्रधानमन्त्री बनेका उनै कोइरालालाई ६ महिनापछि उनै सिंहसित भेट्न जाँदा भेट नै दिएनन् । यो सबैभन्दा पछिल्लो उदाहरण हो ।

राजा महाराजा र नेताहरूलाई एक एक गरेर उचाल पछार गर्दै आखिरमा सबैलाई बेवकुफ बनाएका दर्जनौँ घटनाहरू इतिहासमा दर्ज भएका छन् । तैपनि अनेक लोभलालचमा परेर अझै पनि प्यादा बन्न र बनाउन आतुर एकमुट्ठी मान्छेहरू अझै गम्भीर चलखेलमा उद्यत देखिन्छन् । तर, प्यादाको कुनै भविष्य हुँदैन । लाए अह्राएको काम सफल भए पनि असफल भए पनि प्यादाको नियति अन्तिममा समाप्ति हो । यस्ता दृश्यहरू सिनेमामा पनि पर्याप्त देखिन्छ ।

भारतीय गुप्तर संस्था ‘रअ’का प्रमुख समन्त गोयल हालै नेपाल आएर फर्किएपछि नेपाली राजनीति धमिलिन थालेको देखिन्छ । अनि यही विषयलाई आधार बनाएर अर्का भारतीय नेताले नेपाल विरुद्ध कुनै ग्रयान्ड डिजाइन नरहेको बताए । तर, आज सम्मको इतिहास र विगतको अनुभवले यस्तो बताउँदैन । सचेत पाठकहरूलाई थाहा होला, वरिष्ठ पत्रकार सुधीर शर्माले २०७३ फागुन २७ गते कान्तिपुर पत्रिकामा १० वर्ष पछिको नेपाल कस्तो होला ? भन्ने लेखमा वृटिस कालीन औपनिवेशी मानसिकताको भारतीय शासकको नेपालप्रतिको नकारात्मक सोच र कृत्यलाई उजागर गरेका छन् ।

सुधीर शर्माले तत्कालीन नेपाल स्थित भारतीय राजदूत रन्जित रायले बिदाइ भोजका अवसरमा पत्रकारहरूसित गरेको कुराकानीमा आधारित लेखमा रायले हरेक दश वर्षमा नेपाल ओरालो लागेको छ र अबको दश वर्षपछि पनि त्यसरी नै नेपाल तल झर्नु पर्ने हो अर्थात् भड्खालोमा जानु पर्ने हो भनेको कुरा प्रकाशित छ । नभन्दै भारतीय गुप्तचर प्रमुखको आगमनपछि पूर्व राजा ज्ञानेन्द्रको अस्वाभाविक तथा भद्दा नाटकीय चहलपहल सुरु भएको देखिन्छ । केही मानव आफ्नो हलिया,हुर्मत,बर्कत नहेरी नछामी अहिले नै राजगद्दीमा बस्ने लोभमा परेका छन् अनि त्यही लोभ र लाभमा झिँगाझैँ भन्किएर भए पनि सुखसयलको मृगमरीचिकाको आशमा कथित बुद्धिजीवीहरू बुद्धि र विवेक समेत खोपमा राखेर भुइँ छाडेर उचालिन थालेका छन् ।

बेलामा बुद्धि नपु¥याउने अनि पछुताउने नेपालका राजा र नेताको आम चरित्र रहेको देखिन्छ । ज्ञानेन्द्र शाहले फेरि राजा हुने कुनै हैसियत आफैँले बाँकी राखेको भने देखिन्न । राजदरबार हत्याकाण्ड,उपचारमा असावधानी,शवको उपेक्षा र अपमान लगायत तमाम काम र गतिविधिहरू ज्ञानेन्द्र शाहका लागि अदेखको विषय होइन र छैन । वीरेन्द्रको मात्र छानी छानी वंश नाश किन भयो ? अनि ज्ञानेन्द्रको परिवार मात्र किन बालबाल बच्यो र बचाइयो ? यो जनताले सदा सोधिरहने प्रश्न हो । अस्पताल गएकी रत्नराज्य शाह सिकिस्त भएर लम्पसार परेका नाति दीपेन्द्र शाहलाई पुलुक्क हेर्नं सम्म पनि किन गइनन् ? हत्या गरिएको वीरेन्द्र सहितको लाशलाई किन अपमानित गरी सद्गतिभन्दा अघि भुर्इंंंमा असरल्ल पारियो ? त्यस बेला मुलुकको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई किन मानसिक र भौतिकरूपमा अत्यन्त त्रसित बनाइयो ? यो प्रश्न पनि अनुत्तरित छ ।

राजदरबार बहिर्गमन गर्नुभन्दा पहिले नै ज्ञानेन्द्रद्वारा वीरेन्द्रको वंश नाश गरिएको राजदरबारको कक्ष किन भत्काउन लगाइयो ? नृशंस हत्यापश्चात् रगताम्य दरबार कक्ष र परिसर स्थल किन तुरुन्त धोइपखाली गर्न हतार गरियो ? यसको जवाफ पनि दिन सक्नुपर्छ । आफैँ दरबारमा रहे बसेपछि केही जान्दिनँ भन्दा कसले पत्याउँछ ?

०७६ साउन ११ गते नयाँ पत्रिकामा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहसहित भएर भूमिगत गिरोह र त्यसका मूर्तिचोर लगायतका अनेक काण्ड र कृत्यदेखि यसको पोल खोल्ने वरिष्ठ पत्रकार पदम ठकुराठीको मार्ने नियतले गोली ठोक्नेसम्मका गतिविधि प्रकाशित भयो । पूर्व राजा वीरेन्द्र शाहका सुधारात्मक कामहरूमा बाधा व्यवधान गर्ने बाहेक ज्ञानेन्द्रले के चाहिँ काम गरे यो खोजीकै विषय हो । ज्ञानेन्द्र शाहले देश र जनताका लागि के गरे भन्दा उत्तर शून्य देखिन्छ । अनि बाबु बाजेले देश र जनताका लागि गरेको र लगाएको गुन वा जस ज्ञानेन्द्रलाई दिन कुन विवेक र बुद्धिले दिन्छ ? बुद्धि,विवेक र दूरदर्शी सोच भाग बण्डा र अंशबण्डामा पाइने कुरा हो र ?

ज्ञानेन्द्रले आफ्ना छोरालाई सही बाटो ,लक्ष्य र उद्देश्यसहितको मार्ग प्रदर्शन गर्नै सकेनन् । बरु पारस शाह अर्थात् छोरालाई अलि सम्झाउनु पर्छ भन्ने दाजु वीरेन्द्रसित रिसइवी साँध्न ज्ञानेन्द्र आतुर देखिए । आफ्नो घरपरिवार नै सम्हाल्न सकस पर्ने शाहले देश र जनताका लागि फेरि केही गर्छन् वा गर्लान् भनेर कुन बुद्धि भएको मानिसले सोच्न सक्छ ? प्रा.डा. सुरेन्द्र केसी लगायत एकाध बौद्धिक भनिएका व्यक्तिहरूले एक घण्टाको बसाइमा शाहबाट अत्यन्त प्रशन्न चित्त लिएर फर्किएको थाहा पाइयो । दरबारमा शाह परिवारहरूलाई हरेक औपचारिक सभा,समारोह र बर व्यवहार विषयमा बर्सौंको तालिम दिइन्छ । यो त सब देखाउने कुरा न हो डाक्टर साहेवहरू ?

पूर्व महारानी ऐश्वर्य शाहले प्रधानमन्त्री लगायत दरबारमा आमन्त्रित पाहुनाहरूलाई आफैँ खाना पस्किएर दिन्थिन् । पूर्वराजा त्रिभुवनले शाही सत्ता जोगाउन जनताको साथ लिन तिनका प्रतिनिधिलाई आफैँले गम्लंग अँगालो हालेका थिए । पूर्व सेनापति रुक्मांगत कटुवालले समेत शाहलाई आन्दोलनरत सात दलसित लचिलो हुन आफैँलाई भड्खालोमा हालेर नपुर्न गरेको विनम्र सुझाव ज्ञानेन्द्र शाहले नमान्दा हैरान र हार खाएर कटुवालले किताव नै लेखे । मन्त्री बनेर दरबारको भतेर खान गएका एक पूर्व एमाले नेताले राजा ज्ञानेन्द्रसित भेट्न जाँदा र मन्त्री परिषद्को बैठकमा सहभागी हुन जाँदा बेकाममा घण्टौँ पिँडुला दुखुन्जेल खडा भएको गुनासो मिडिया मार्फत् उजागर गरेका थिए ।

भेटपछि डा.केसीले ज्ञानेन्द्र शाह उच्च,उदार, कुनै पनि आक्रोश, गुनासा र गनगन नगर्र्ने व्यक्तित्व रहेको उल्लेख गरे पनि शाहले शिष्ट भाषामा गनगन त गरेछन् नि । शाहले मलाई पार्टीहरूले फसाए आदि आदि भन्नु को अर्थ र अन्तर्यको अर्थ सोझो भाषामा के हुन्छ डा. साहेवहरू । वीरेन्द्रको वीभत्सतापूर्वक समग्र वंश नाश गरेको प्रसंग ज्ञानेन्द्र शाहसित कोट्याएको मात्र भए पनि ज्ञानेन्द्रको चाउरिएको अनुहार हेर्न लायकको हुने थियो ।

केवल आरती उतारु,स्वस्ती र सलाम मात्र गर्ने भक्तका अगाडि रिसाउने मूर्खता कसले गर्ला र ? कतिपय पठित व्यक्तिहरू शाह वंशीय राजाहरूले देशका लागि योगदान गरेको बताएर त्यसको भागीदार र अंशियार ज्ञानेन्द्र शाहलाई समर्पण गर्न खोजेर शाहको भद्दा र कुरूप आरती उतार्न उद्यत देखिन्छन् । केही दरबारियाहरू ज्ञानेन्द्र शाहको भ्रमणमा हजारौँको प्रायोजित भिड लागेको देखेर राजतन्त्र लोकप्रिय रहेको भ्रम फिँजाइरहेका छन् । अनि तिनीहरू महामहिम राष्ट्रपति विद्या भण्डारी औपचारिक भमणमा जाँदा न्यून जनताको उपस्थिति देखेर राष्ट्रपति कमजोर भएको मनोगत आँकलन गरेर खुसी मान्छन् ।

आमा दिदी बहिनीहरूलाई चाँदीका थालमा आफ्ना गोडा धुवाउने पूर्वराजा ज्ञानेन्द्र खोपीको देउता होलान् तर यो समयको राजा हुने योग्यताबाट उनीे आफैँ वञ्चित भएका छन् । तर पनि जन्मँदै राजा,काजी र प्रतापी भनिनेहरूलाई स्वस्ती,सलाम,ढोगभेट र आरती उचारु कथित न्यूनचेतहरू योग्यता,योगदान र क्षमताका आधारमा निर्वाचित जनताका सन्तान भएका राष्ट्रतिलाई हेलाहोचो गर्छन् ।

डा. पद्वीधारी कथित बुद्धिजीवी तथा पूर्व पञ्चहरू समेत जननिर्वाचित राष्ट्रपतिप्रति बौद्धिकताका नाममा असत्य अतथ्य र अतार्किक सरम लाग्दो अभिव्यक्ति दिइरहेका छन् । दास मानसिकतामा अभ्यस्तहरू स्वाभिमानी नागरिक हुन पाएकामा गौरव बोध गर्नै सक्तैनन् । यत्ति सानो र संकीर्ण चरित्र र चिन्तन लिएर र त्यस्तै स्वार्थी तत्त्वहरूको उकासका आधारमा ज्ञानेन्द्र शाहले देखेको फेरि राजगद्दीमा आसीन हुने सपना दिवा स्वप्न मात्र हो ।

प्रतिक्रिया