शिक्षिकाहरूले बनाए नमुना विद्यालय

मुगु । जिल्लाभर सरकारी विद्यालयको संख्या १ सय ३८ रहेको छ । जसमा धेरै विद्यालयमा वातावरणीय, शैक्षिक सिकाइमा अब्बल होलान् । तर, छायानाथ रारा नगरपालिकामा रहेको एक सामुदायिक विद्यालय महिला शिक्षिकाहरूले मुगुकै नमुना विद्यालयका रूपमा सञ्चालन गरिरहेका छन् ।

छायानाथ रारा नगरपालिका–३ इमा गाउँमा ०४६ सालमा स्थापना भएको पशुपति आधारभूत विद्यालय अहिले नगरपालिका भित्रका ४५ विद्यालय मध्ये फरक देखिएको छ । १ देखि ५ कक्षासम्म पढाइ हुने यस विद्यालयमा अहिले सबै शिक्षिकाहरू नै छन् । कार्यालय सहयोगीबाहेक त्यहाँ कार्यरत शिक्षिकाहरू सबै महिला नै भएका कारण विद्यालयको स्वरूप नै अलग देखिएको छ ।

सुरुमा सानो दुई कोठा मात्र भएको यो विद्यालयमा अहिले चार कोठा छन् भने खेल मैदान, शौचालय, खानेपानी र मजबुत घेरबार छ । यसको अतिरिक्त विद्यालयले दिवा खाजामा स्थानीय उत्पादनलाई जोड दिइएको छ । विद्यालयको जमिन वरिपरि तथा स्थानीयको केही जग्गा प्रयोग गरी मकै, गाँजर, सागपात, काउली फलाएका छन् ।

नारी उत्थान तथा सचेतना केन्द्रको सहयोगमा विद्यालय पोषण बगैँचा कार्यक्रमअन्तर्गत विद्यार्थीलाई स्थानीय उत्पादन उपभोग गर्ने बानीको विकास गराउन थालेको विद्यालयका प्रधानाध्यापक चेतना शाहीले जानकारी गराइन् । पछिल्लो समयमा स्थानीय उत्पादन लोप हुँदै गएको र यसको इतिहास जोगाउन तथा अभिभावकलाई स्थानीय उत्पादनमा आकर्षित गर्न विद्यालय पोषण बगैँचा कार्यक्रबाट बालबालिकामार्फत दबाब पर्ने प्रधानाध्यापक शाहीको बुझाइ छ ।

विगतमा ३०÷४० विद्यार्थी हुने गरेकोमा गएको शैक्षिक सत्रदेखि विद्यार्थीकोे संख्या बढेर ७० पुगेको छ । अहिले यो विद्यालयमा सदरमुकाम गमगढी, श्रीनगर, ठिनी र इमा समुदायका विद्यार्थी अध्ययनरत छन् ।

इमा गाउँका स्थानीयवासी रामबहादुर खड्काले विद्यालयका लागि जग्गा दान दिएपछि कक्षा १ देखि ३ सम्म सुरु भएको थियो । ०६८ सालदेखि महिला शिक्षिकाहरूले विद्यालय जिम्मा आएपछि निकै परिवर्तन हुँदै आएको स्थानीयवासी एवं वडा–३ का वडाध्यक्ष नरबहादुर रावलले बताए । वडा–३ मा रहेका पाँच वटा विद्यालय मध्ये यो विद्यालय नमुना देखिएकाले थप प्रोत्साहन सहयोग हुने अध्यक्ष रावलले बताए ।

अहिले विद्यालयलाई जग्गाको समस्या भएपछि कक्षाकोठा, खेलमैदान लगायतका क्षेत्रमा समस्या परिरहेको अवस्थामा रामबहादुर खड्काका छोरा मनबहादुर खड्काले ९ सय ५२ दशमलव २५ वर्ग मिटर जग्गा विद्यालयलाई दान दिएका छन् । विद्यालयलाई १० लाख बढी मूल्य बराबरको जग्गा खड्काले दान दिएपछि विद्यालयले छायानाथ रारा नगरपालिकाको १६ लाखको लागतमा दुई कोठे भवन निर्माण गर्न लागेको छ ।

‘सन्ततीले घर नजिकै प्रारम्भिक शिक्षा प्राप्त गर्न सकुन् भनेर बुबाले निःशुल्क जग्गा दिनुभएको थियो । अहिले विद्यालयलाई जग्गा साँघुरो हुँदा पठपाठनमा समस्या भएको र साना बालबालिकालाई गाउँदेखि टाढा पठाउन समस्या पर्ने भएकाले मैले फेरि विद्यालयलाई जग्गा दान गरेको हुँ’, जग्गादाता मनबहादुर खड्काले भने । जग्गा दान गर्ने खड्कालाई बुधबार दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर खड्काले जानकारी दिए ।

बुधबार भवनको विधिवत रूपमा वडाध्यक्ष नरबहादुर रावलले शिल्यान्यास गरेका हुन् । नगरपालिका र जिल्लाका अन्य तीनवटा स्थानीय तहमा सञ्चालित सामुदायिक विद्यालयमा मै हुँ भन्ने पुरुष शिक्षकले पनि विद्यालयलाई सुधार गर्न नसकिरहेको अवस्थामा तीन जना दरबन्दी रहेको पशुपति आधारभूत विद्यालयमा कार्यरत सबै महिला शिक्षकले विद्यालयलाई नमुना बनाएपछि प्रोत्साहनका लागि विद्यालयको भवन निर्माण गर्न १६ लाख बजेट व्यवस्था गरिएको छायानाथ रारा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया