लियोनार्दो–ब्राड भर्सेस जोन–अक्षय भिड्दै

न्युयोर्क । बलिउडका दुई ठूला चलचित्र ‘मिसन मंगल’ र ‘बाटला हाउस’ एकसाथ रिलिज हुने भएका छन् । १५ अगस्टदेखि प्रदर्शनमा आउन लागेका यी चलचित्रका कारण प्रभास अभिनीत ‘साहो’ ३० अगस्टमा प्रदर्शनमा आउने नयाँ मिति तय भएको छ ।

यी दुई अभिनेता अभिनीत चलचित्रको भारतीय बक्सअफिसमा हुने भिडन्तप्रति यस्तोमा धेरैलाई चासो रहेको थियो । तर यो भिडन्तमा हलिउडका ठूला स्टार अभिनीत यस वर्षको प्रतिक्षित चलचित्र प्रदर्शन पनि यही मितिमा हुने भएपछि यसको असर बलिउडमा समेत पर्ने भएको छ ।

क्विन्टन टारेन्टिनोको ९औं निर्देशन ‘वान्स अपन अ टाइम हलिउड’ ले भारतमा यही मितिमा रिलिज हुने घोषणा गरेको हो । अभिनेताद्वय लियोनार्दो डि क्याप्रियो तथा ब्राड पिटको मुख्य भूमिका रहेको यो चलचित्रका कारण जोन र अक्षयकुमारका चलचित्रले कस्तो प्रभाव जमाउँलान भन्ने कौतुहलता जगाएको छ । हलिउड चलचित्रले पछिल्लो समय भारतमा आफ्नो प्रभाव फराकिलो बनाउँदै लगेको छ ।

भारतमा लोकप्रिय अभिनेताका रुपमा चिनिएका लियोनार्दो र ब्राडको चलचित्र रिलिजले दुई बलिउड सिनेमाको व्यापारलाई असर गर्ने अनुमान गरिएको छ ।

सोनी पिक्चर्सले मंगलबार हलिउड सिनेमा १५ अगस्टमा रिलिज हुने घोषणा गरेको हो । यही मितिमा नेटफ्लिक्सको चर्चित भारतीय सिरिज ‘सेक्रेड गेम्स २’ पनि यही मितिमा रिलिज हुँदैछ ।

‘वान्स अपन अ टाइम इन हलिउड’ अभिनेता शारोन टेट र अन्य ३ अभिनेताको हत्यामा आधारित छ । यसको सोमबार अमेरिकामा प्रिमियर सो गरिएको थियो । भारतमा १५ अगस्टमा रिलिज हुने यो सिनेमा हलिउडको घरेलु बक्सअफिसमा भने २६ जुलाईमा रिलिज हुने जनाइएको छ ।

प्रतिक्रिया