अस्पतालको लापरबाहीले बिरामीको मृत्यु, कोशी राजमार्ग अवरुद्ध

काठमाडौँ । अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्य भएपछि बिरामीका आफन्त र स्थानीयबासीले त्यसबिरुद्ध बिरोध जनाउँदै कोशी राजमार्ग अवरुद्ध पारेका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शुक्रबार घुँडाको शल्यक्रिया गर्ने क्रममा एक विरामीको मृत्यु भएपछि मृतकका आफन्तले कोशी राजमार्ग अवरुद्ध पारेका हुन् ।

सुनसरी दुहबीका ५१ वर्षीय अनिलकुमार शाहको आइतबार अस्पतालमै मृत्यु भएको थियो । मृतक शाहको उपचारमा संलग्न चिकित्सकलाई कारवाही गर्नुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आज कोशी राजमार्गको दुहबी खण्ड अवरुद्ध पारिएको छ ।

उक्त प्रदर्शनका कारण राजमार्गमा सवारीसाधन ठप्प छन् । बायाँ घुँडाको सामान्य शल्यक्रिया गर्दा अनिलको मृत्यु भएपछि आइतबार अस्पतालमा प्रदर्शन गरेका आफन्तले शवसमेत बुझ्न मानेका छैनन् । मृतक शाहलाई नोबेल मेडिकल कलेज हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. सन्दीप अधिकारीसहितको टोलीले शल्यक्रिया गरेका थिए ।

प्रतिक्रिया