कामपाको नीति तथा कार्यक्रम

काठमाडौं । काठमाडौ महानगरपालिकाको ०७६-७७ नीति तथा कार्यक्रममा संस्कृतिक सम्पदा पुनर्निर्माण, संरक्षणमामा मुख्य जोड दिएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गर्दै सम्पदामा विशेष जोड दिइएको कामपाले जनाएको छ ।

काठमाडौं महानगरले साधारण सभाबाट तीन दिनअघि नै नीति तथा कार्यक्रम पारित गरे पनि आइतबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रममा त्यसलाई प्रस्ट्याएको हो । कामपा भित्रका अधिकांश सम्पदा पुनर्निर्माणको क्रममा रहेको कामपाको भनाइ छ ।

विद्यासुन्दर शाक्यको चुनावी धोषणापत्रमासमेत सम्पदा पुनर्निर्माण, संरक्षण,प्रवद्र्धनलगायतका विषय उठान गरिएको थियो । जसमा सय दिनमा १ सय एक काम गर्ने भनिएको थियो । ती मध्ये सम्पदा पुनर्निर्माण पनि एक थियो । तर, हालसम्म पनि ती पुनर्निर्माणको क्रममै रहेका छन् ।

कामपाले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पर्यटन बोर्डसँग साझेदारी गरी अन्य कार्यक्रम पनि गर्ने भएको छ । यस्तैगरी काठमाडौं महानगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हवको रूपमा विकास गर्न विशेष कार्यको थालनी पनि चालू आर्थिक वर्ष भित्रबाट सुरु गर्ने प्रतिबद्धता जनाएको छ ।

हनुमानढोकादेखि स्वयम्भूसम्मको पुरातात्विक सम्पदा पदमार्ग सञ्चालन, फोहोरमैलाको दिगो व्यवस्थापन, मोनोरेल सञ्चालन र तीनकुनेको खाली जग्गामा बुद्धपार्क निर्माण गर्ने कार्यक्रम तय भएको छ । बालाजु बाइसधारा उद्यानको स्तरोन्नति, वाग्मती, टुकुचा, धोवीखोलालगायत महानगरक्षेत्र भएर बग्ने नदीको सरसफाइ गर्ने भएको छ ।

कार्यक्रम आर्थिक, सामाजिक र सांस्कृतिकरूपमा पछाडि परेका समुदायलाई समेत केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार पारिएको प्रवक्ता ईश्वरमान डंगोलले बताए । प्रवक्ता डंगोलले प्राविधिक तथा व्यावसायिक शिक्षाको बिस्तारका लागि आगामी २ वर्षभित्र प्राविधिक विद्यालय सञ्चालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको बताए ।

ज्येष्ठ नागरिकहरूलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ पनि सञ्चालनमा ल्याउने महानगरपालिकाको योजना छ । त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको प्रवक्ता डंगोलले बताए ।

महानगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रण गरी त्यसमा बाल मैत्री उद्यान, योगापार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरू र खुला क्षेत्रहरूको विकास गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटेको छ ।

त्यसैगरी सहरको मुख्यमुख्य चोकहरूमा ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत हाईमास बत्ती जडान गर्ने कार्यक्रम पनि चालू आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने गरी तय गरिएको प्रवक्ता डंगोलले बताए । यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि ‘भर्टिकल पार्किङ’ र ‘अन्डरग्राउन्ड पार्किङ’ को अवधारणा तय गरी कार्यान्वयनमा ल्याउन थालिएको छ ।

प्रवक्ता डंगोलका अनुसार त्यसका लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको छ । काठमाडौंको प्रदूषण नियन्त्रणका लागि साइकल लेनको व्यवस्था गर्ने, भेहिलक सफाई केन्द्रहरूको स्थापना गर्ने पनि महानगरपालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रदूषण नियन्त्रणका लागि हरियाली प्रर्वद्धनको कामलाई पनि नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइएका काठमाडौं महानगरपालिकाले जनाएको छ । यी सबै कामका लागि लागि महानगरपालिकाले १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया