इलाममा ६४ करोड फ्रिज

इलाम । जिल्लामा गत आव ०७५/७६ मा पौने ६४ करोड रुपैयाँ बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका अनुसार संघीय र प्रदेश सरकारबाट आएका ६३ करोड ८९ लाख ९६ हजार ३ सय ९८ रुपैयाँ फ्रिज भएको हो । जिल्लामा संघ र प्रदेश सरकारबाट ६ अर्ब ७४ करोड ८३ लाख ३ हजार ४ सय ७४ रुपैयाँ आएको थियो । जसमध्ये ६ अर्ब १० करोड ९३ लाख ७ हजार ७६ रुपैयाँ मात्र खर्च भएको कोष नियन्त्रक कार्यालय इलामले जनाएको छ । संघीय सरकारको ५ अर्ब ७४ करोड १६ लाख ८५ हजार ९ सय ५४ मध्ये ५ अर्ब ३३ करोड १५ लाख ३५ हजार २ सय ९२ रुपैयाँ र प्रदेश सरकारको १ अर्ब ६६ लाख १७ हजार ५ सय २० रुपैयाँमध्ये ७७ करोड ७७ लाख ७१ हजार ८ सय २४ रुपैयाँ मात्र खर्च भएको छ ।

संघीय सरकारको चालु खर्चतर्फ ४ अर्ब ७२ करोड ९९ लाख ७४ हजार ९ सय ५३ रुपैयाँ वार्षिक बजेट रहेकोमा ४ अर्ब ५७ करोड ४१ लाख ६४ हजार १ सय ३६ रुपैयाँ मात्र खर्च भएको छ । यस्तै, पुँजिगत खर्चतर्फ १ अर्ब १ करोड १७ लाख ११ हजार रुपैयाँमध्ये ७५ करोड ७३ लाख ७१ हजार १ सय ५५ रुपैयाँ मात्र खर्च भएको तथ्यांक छ । प्रतिशतको आधारमा हेर्दा संघीय सरकारको चालु खर्च ९६ दशमलव ७० प्रतिशत छ भने पुँजीगत खर्चको ७४ दशमलव ८६ प्रतिशत मात्र खर्च रहेको देखिन्छ ।

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त चालुतर्फ २८ करोड ६६ लाख ५० हजार ७ सय २० रुपैयाँ बजेटमध्ये २२ करोड ६६ लाख ९८ हजार १ सय २८ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ ७१ करोड ९९ लाख ६६ हजार ८ सय रुपैयाँमध्ये ५५ करोड १० लाख ४३ हजार ६ सय ९६ रुपैयाँ खर्च भएको छ । प्रतिशतको आधारमा हेर्दा चालु खर्च ७९ दशमलव ०९ प्रतिशत छ भने पुँजिगततर्फ ७६ दशमलव ५३ प्रतिशत खर्च भएको देखिन्छ ।

५० करोड राजस्व संकलन

कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक प्रतिवेदनअनुसार इलाममा यसवर्ष ५० करोड राजस्व संकलन भएको छ । कार्यालयको तथ्यांकअनुसार ५० करोड ३० लाख २५ हजार ८ सय ८ रुपैयाँ राजस्व संकलन भएको छ । जसमध्ये संघतर्फ ४५ करोड १६ लाख ८२ हजार ७ सय ६३ रुपैयाँ र प्रदेशतर्फ ५ करोड १३ लाख ४३ हजार ४५ रुपैयाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया