माध्यमिक तहको पदस्थापना प्रक्रिया सुरु

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरूको पदस्थापनाको प्रक्रिया सुरु गरेको छ । शुक्रबार ७७ वटै शिक्षा समन्वय इकाइहरूलाई परिपत्र गर्दै केन्द्रले शिक्षकहरूको विषयगत नामावलीसहित शिक्षक नियुक्ति तथा पदस्थापनाका पाँच ओटा आधारहरू पठाएको हो ।

केन्द्रका महानिर्देशक बाबुराम पौडेलले शिक्षकको पदस्थापनाको प्रक्रिया सुचारु भएको बताउँदै आफ्नो जिल्लाअन्तर्गत रिक्त रहेको तह र विषयगत दरबन्दी संख्याअनुसार शिक्षकहरूलाई गाँउ नगरपालिका रोज्न लगाउने जानकारी दिए ।  ‘केन्द्रले सबै समन्वय इकाइलाई परिपत्र गरिसकेको अवस्था छ । शिक्षकलाई विषयगत नामावली सहित नियुक्ति गर्ने तयारी गरिएको हो । कुन विद्यालयमा कुुन शिक्षक छनौट गर्ने भन्ने अन्तिम निर्णय स्थानीय सरकारले गर्ने छ’ पौडेलले भने ।

पौडेलले शिक्षक सेवा आयोगले जिल्लाबाट संकलन गरिएको माग भन्दा बढी शिक्षक सिफारिस भएपछि पदस्थापनामा समस्या सिर्जना भएको बताएका छन् । उनले, अब, उक्त पदस्थापनाको समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे । २०७५ असारमा भएको खुल्ला तर्फको विज्ञापनको सबै प्रक्रिया पूरा गरेर आयोगले १ हजार ९७ जनाको नाम गत जेठमा नियुक्तिको लागि सिफारिस गरेको उनले बताए । यद्यपि, विज्ञापनका लागि केन्द्रले आयोगलाई ५ सय २९ रिक्त पद संख्या बुझाएको जनाएको छ ।

यसैबीच, बिद्यालयमा पदस्थापन गर्न स्थायी नियुक्ति प्राप्त गरेका विषयगत शिक्षकहरूको नामावली र विद्यालयगत रिक्त दरबन्दीको विवरण सम्बन्धित गाँउ नगरपालिकालाई उपलब्ध गराउने केन्द्रले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त विवरणका आधारमा स्थानीय तहले नियमावलीअनुसार तह, कक्षा, विषय र विद्यार्थी संख्याको आधारमा विद्यालय रोज्न लगाई पदस्थापन गर्ने छ ।

नियुक्ति दिँदा यस अघि नै केन्द्रले तय गरेको प्राथमिकता अवलम्बन गर्न पनि परिपत्र मार्फत् निर्देशन दिइएको छ । प्राथमिकता क्रमअनुसार जिल्ला छनौट फारम भर्न गत असार २ गते गरिएको सूचना अनुसार उम्मेद्वारले पेश गरेको प्राथमिकतालाई आधार मान्ने पनि परिपत्रमा निर्देश छ । जसअनुसार समान तह र विषयको रिक्त स्वीकृत दरबन्दीमा अस्थायी रूपमा कार्यरतलाई पहिलो, अपांगलाई दोश्रो, स्थायी ठेगाना वा विवाह दर्ताबाट खुल्ले आधारमा महिलालाई तेश्रो र अन्यलाई योग्यताक्रमका आधारमा चौथो प्राथमिकता दिएर नियुक्ति दिन भनिएको छ ।

साविकका नवलपरासी र रूकुम जिल्लाको हकमा साविकका जिल्लाले हालका नयाँ जिल्लासँग समन्वय गरी नियुक्ति दिने व्यवस्था मिलाउन परिपत्रमा निर्देश छ । नियुक्ति दिँदा रिक्त रहेका तह र विषयगत दरबन्दी संख्याअनुसार शिक्षकलाई पालिका रोज्न लगाउने आधार तय गरेको केन्द्रले जनाएको छ ।

यसरी नियुक्ति भएका शिक्षकको नामावलीसहितको विवरण पालिकाहरूमा उपलब्ध गराउनु पर्ने, उक्त विवरणका आधारमा स्थानीय तहले तह, कक्षा, विषय र विद्यार्थी संख्याका आधारमा विद्यालय रोज्न लगाउने र नयाँ नियुक्त शिक्षकहरूको विवरण केन्द्रमा पठाउन उक्त परिपत्रमा निर्देश गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइले नियुक्त गरिएका शिक्षकहरूको एकमुष्ट नामावली मात्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने छ ।

प्रतिक्रिया