अरूपणमा थारू लोककला

काठमाडौं । नेपालको तराईं–मधेसमा बसोवास गर्ने थारू समुदायमा प्रचलित लोककलाको प्रदर्शनी सुरु भएको छ । लाजिम्पाटस्थित अरूपण आर्ट ग्यालरीमा प्रदर्शनीको उद्घाटन गर्दै अग्रज कलाकार प्रो. गोविन्दनारायाण ज्यापूले लोककलाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले नेपालका मौलिक कलाको संरक्षण हुन सकेकामा देशको पहिचान स्थापित हुने धारणा व्यक्त गरे । उनले भने, ‘लोककलाको संरक्षण, संवद्र्घन र प्रवद्र्धनका लागि राज्यले विशेष लगानी गर्नुपर्दछ ।’ उनले लोककलाको पृष्ठभूमिमा आजको कला उभिएको जिकिर गर्दै थारू लोककलाको मौलिकताले देशको संस्कृतिलाई चिनाउन सकेको भनाइ राखे । प्रदर्शनीमा दाङ, बर्दिया र कैलालीका कलाकारले तयार पारेका थारू लोककला प्रदर्शनीमा राखिएको ग्यालरीका निर्देशक रीता खनालले जानकारी दिइन् ।

उनले आफ्नो संस्कार, रीतिरिवाज, परम्परालाई थारू कलाकारले बचाइराखेका बताइन् । उनले भनिन्, ‘थारू लोककलाकारलाई प्रेरित गर्ने उद्देश्य राखेर सामूहिक कला प्रदर्शनी आयोजना गरिएको हो ।’

प्रदर्शनीमा प्राज्ञ बुद्घि गुरुङ, प्राज्ञ मिथिलादेवी यादव, केशव दुवाडी स्मृति प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार दुवाडी, थारू कलाकार मिठु थारूले थारू लोककलाको महत्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्राज्ञ एवं कला समीक्षक रमेश खनालले थारू लोककलाले ऐतिहासिक महत्व प्राचीनकालदेखि नै रहेको धारणा व्यक्त गरे । उनले भने, ‘थारू लोककलाको ऐतिहासिकता र यसको मौलिकताले नेपाली संस्कृतिको बहुआयामिकतालाई देश विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’

पछिल्लो समय राजनैतिक, सांस्कृतिक तथ भूमण्डलीकरणका कारण यो कलाको मौलिकता लोप हुन लागेको चिन्ता व्यक्त गर्दै प्राज्ञ खनालले यसको संरक्षण, प्रवद्र्धन तथा संवद्र्धनमा प्रतिष्ठानले काम गर्ने विचार राखे ।

प्रदर्शनीमा विमल चौधरी, शारदा चौधरी, संगीता चौधरी, सीताकुमारी चौधरी, मीनु चौधरी, शकुन्तला चौधरी, जेशिका चौधरी, सुषमा चौधरी, मानसु चौधरी, कविता थारू, मिठू थारू, पूजालक्ष्मी थारू, नरेन्द्र डेफू थारू र रामबहादुर थारूका चित्र राखिएको छ । प्रदर्शनी साउन २८ सम्म चल्ने ग्यालरीले जनाएको छ ।

प्रतिक्रिया