दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल प्रतिवद्ध : पोखरेल

न्युर्योक । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललेको दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन । मन्त्री पोखरेलले नेपालले आधारभूत शिक्षामा लैगिक समानता हासिल गरिसकेको बताउँदै माध्यमिक शिक्षामा पनि लैंगिक समानता हासिल हुने अवस्थामा पुग्न लागेको जानकारी दिएका हुन ।

युनेस्कोको आयोजनामा अमेरिकाको न्युर्योकमा आयोजित दिगो बिकास लक्ष्य–४ सम्बन्धी हाई लेभल पोल्टिकल फोरमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका छन ।  नेपाल सरकारले शिक्षामा लैंगिक समता, समानता र समावेशीता सुनिश्चित गर्न सरकारले कानुनी र कार्यव्रmमिक उपायहरु अवलम्बन गरिरहेको छ मन्त्री पोखरेलले बताए । नेपालको संविधान जारी भई मुलुक संघीय संरचनामा रुपान्तरण भए संगै तीनै तहका सरकारहरु शिक्षाको विकासमा जिम्मेवारीबोध सहित अग्रसर भएको बताए ।

नेपालको संविधानले नै अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको सुनिश्चितता गरेको पोखरेलले बताए । उनले सुविधाविहीन वर्गको सहज पहुँच एवम् सहभागिताका लागि अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, जारी गरिसकिएको र सो ऐन कार्यान्वयनका व्रmममा रहेको जानकारी गराए ।

उनले सबै बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेकोले अधिकारमा आधारित अवधारणा अंगीकार गरी विभिन्न रणनीति तथा कार्यव्रmमहरु अघि बढाइएको पनि प्रष्ट पारे । मन्त्री पोखरेलले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको दिगोपनाका लागि सरकारले विभिन्न प्रयासहरु अघि बढाउने जानकारी समेत दिए ।

कार्यक्रममा दिगो विकास लक्ष्यको चौथो लक्ष्य अन्तर्गतको पाँचौं गन्तब्यः (शिक्षामा समानता तथा समावेशिता) सम्बन्धमा युनेस्कोको संयोजनमा नोराड, विश्व बैंक लगायतका संस्थाहरुले गरेको अध्ययनका निष्कर्षहरु प्रस्तुत गरिएको थियो ।

मन्त्री पोखरेलले नेपाल, घाना, लेबनान, पेरु र ग्वाटेमाला गरी पाँच देशको अध्ययनबाट प्राप्त निष्कर्ष र सुझावहरु विश्वकै लागि सान्दर्भिक रहेको र यसमा औंल्याइएका विषयहरु नेपाल सरकारले सम्बोधन गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया