बाँके । राप्ती नदीमा पानीको सतह खतराभन्दा माथि पुगेपछि नदी आसपासका बासिन्दा त्रसित बनेका छन् भने उनीहरूका लागि सुरक्षित स्थानको पहिचान गर्न प्रशासनले पहल थालेकोे छ । दाङ र प्युठानमा अधिक गर्षा भएपछि राप्ती नदीको सतह बढेसँगै तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्नका लागि सुरक्षित स्थानको पहिचान गर्न थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित जलमापन केन्द्रका अनुसार पानीको सतह यो समाचार तयार पार्दासम्म ५ मिटर ९३ सेन्टिमिटर पुगेको छ । केन्द्रका गेज रिडर भद्रबहादुर थापाका अनुसार पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । गेज रिडर थापाले नदीमा पानीको सतह निरन्तर बढिरहेको जानकारी दिए ।
‘पानीको सतह निरन्तर बढिरहेको छ । पहाडी क्षेत्रमा अधिक वर्षा भएकाले पानीको सतह बढ्ने क्रममै छ,’ उनले भने । बाढीबाट सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाको वडा–५, ६, ७ र डुडुवा गाउँपालिकाको वडा–१ सबैभन्दा जोखिममा रहेका छन् । नदीमा पानीको सतह खतराको संकेतभन्दा माथि पुगेमा लक्ष्मणपुर बाँध आसपासका डुडुवा गाउँपालिकाकोे होलिया, बेतहनी, नरैनापुरको गंगापुर, मटेहिया र राप्तीसुनारीको फत्तेपुर, कचनापुर लगायतका गाउँहरू डुबानको जोखिममा पर्ने गरेका छन् ।
सौर्य दैनिकसँग कुरा गर्दै प्रजिअ भुजेलले भने, ‘नदीमा पानीको सतह खतराभन्दा माथि पुगिसकेको छ । नदी तटीय क्षेत्रका स्थानीय नागरिकलाई सजक रहन भन्दै साइरन बजाइसकेका छौँ । राप्तीमा बाढी आइहालेमा नागरिकलाई सुरक्षित स्थानमा राख्न सुरक्षित स्थानहरू पहिचान गरिरहेका छौँ ।’ नदीमा पानीको सतह बढेपछि सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको प्रजिअ भुजेलले बताए ।
प्रजिअ भुजेलका अनुसार डुबान तथा बाढीपीडितलाई तत्काल उद्धार गर्न र सुरक्षित ठाउँमा राख्न सुरक्षित स्थान पनि पहिचान भइसकेका छन् । उनले भने, ‘विपद् आइहालेमा पहिचान गरेका स्थानहरुमा पीडित भएका नागरिकलाई सुरक्षित रूपमा राख्नेछौँ ।’ प्रजिअ भुजेलका अनुसार बाढीपीडितका लागि सामुदायिक भवन, सडक, विद्यालय, सामुदायिक वन, सुरक्षित आश्रय भवन, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका भवनहरूमा व्यवस्था गरिएको छ ।
नजिकको खुला तथा अग्लो ठाउँ, मन्दिर र सामुदायिक वनको खुला ठाउँलाई पनि आश्रयस्थलका रूपमा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी भुजेलले बताए । ‘हामीले बाढी प्रभावित क्षेत्रहरुको पहिचानसँगै कुन ठाउँका बाढीपीडितलाई कुन स्थानमा सुरक्षित राख्ने भनेर योजना नै बनाइसकेका छौँ,’ उनले भने । जिल्लास्थित विपद् व्यवस्थापन समितिले उद्धारका लागि तालिम प्राप्त जनशक्ति र उद्धार सामग्रीको व्यवस्था मिलाइसकेको छ भने सबै सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखेको छ ।
प्रमुख जिल्ला अधिकारी भुजेलका अनुसार नेपाली सेनाका १ सय १५, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरीका ५० र अन्य गैरसरकारी क्षेत्रका १ सय ७३ जनालाई उद्धारकर्तालाई तालिमसमेत दिएर उद्दारका लागि तयारी अवस्थामा राखिएको छ ।’ उनले यसबाहेक स्थानीय तहमा गठन भएका विपद् व्यवस्थापन समितिहरू पनि उद्धारमा खटिने जानकारी दिँदै उद्धार तथा राहतका लागि चाहिने सम्पूर्ण सामग्री तयारी अवस्थामा राखेको बताए ।
राप्ती नदीमा आएको बाढीले खतराको संकेत पार गरे लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले आआफ्ना विभिन्न युनिटमार्फत बाढीको खतराबाट जोगिनका लागि साइरन बजाएको छ । विपद आइहालेमा उद्दारको लागि तयारी अवस्थामा राखिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले जानकारी दिए । पानीको बहाव खतराको संकेतभन्दा निकै माथि पुगेपछि साइरन बजाइएको छ ।
प्रतिक्रिया