काठमाडौँ । शुक्रबार पाल्पाको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोरेर फरार रहेकी महिलालाई प्रहरीले प्रहरीले पक्राउ गरेको छ । नवजात शिशु चोरेर फरार भएकी स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर–५, मोहनडाँडाकी अन्दाजी ५० वर्षीया विमला पाण्डेलाई नवजात शिशुसहित प्रहरीले पक्राउ गरेको हो ।
उनलाई स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर–७, स्थीत नेपाल विद्युत प्राधिकरणको सरकारी आवासबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । विद्युत प्राधिकरणमै ज्याला मजदुरी गर्ने पाण्डेले शुक्रबार दिउँसो ३ बजे तानसेन–९, मदनपोखराकी जमुना रानाले जन्माएको नवजात शिशु चोरेर फरार भएकी थिइन् । नवजात शिशुको अवस्था भने अहीले सामान्य रहेको प्रहरीले बताएको छ ।
पक्राउपछि नवजात शिशु र चोरी गर्ने महिला दुवैलाई पाल्पा लगिएको छ । शुक्रबार बच्चा जन्माएपछि जमुना अचेतजस्तै भएको र ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिला पाण्डेले सुत्केरी जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा चोरेर फरार भएकी थिइन् ।
बच्चा हराउनेवित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा प्रहरीले खोजी थालेको थियो । सिसिटिभी फुटेजको आधारमा महिलाको हुलिया पत्ता लगाएर पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ । बच्चा चोरी गर्ने महिलामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया