पूँजीबजार सम्बन्धी अन्तरक्रिया

काठमाडौं । पूँजीबजार सम्बन्धी एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । स्टक ब्रोकर एशोसिएशन र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को संयुक्त आयोजनामा काठमाडौंको कमलपोखरीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । विभिन्न सञ्चार माध्यममा पूँजीबजारको विकास र विस्तारका लागि समाचार लेख्दै आएका २५ जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रममा मार्जिन कारोबार तथा ब्रोकर कम्पनीहरुको काम र कमिशनको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा ब्रोकरहरुले सुरु गर्न लागेको मार्जिन कारोबारको बारेमा स्टक ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै प्रष्ट पारेका थिए । यो कारोबार सुरु गर्नका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा राफसाफ भण्डारनका लागि आवश्यक पूर्वाधारहरु थप गर्न प्रस्ताव भए बमोजिम काम भईरहेको पूर्वृ अध्यक्ष रेग्मीले जानकारी गराए ।

छलफलमा एशोसिएशनका पूर्व महासचिव सन्तोष मैनालीले दक्षिण एशियाली मुलुकका सात राष्ट्रहरुको तुलनामा नेपालको ब्रोकर कमिशन कम रहेको तथ्याङ्क सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले पाकिस्तानको ०.२५ प्रतिशत देखि २.५ प्रतिशत , भारतको २.५ प्रतिशत, माल्दिभ्सको १ देखि २ प्रतिशत, भुटानको बढीमा १.५ प्रतिशत, बङ्गलादेशको बढीमा १ प्रतिशत ,श्रीलङ्काको बढीमा १.१२ प्रतिशत र नेपालको ०.४ प्रतिशत देखि ०.६ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

पूँजीबजारको विकास र विस्तारका लागि ब्रोकर कम्पनी र पत्रकारहरुविचको सहकार्यलाई मजवुत बनाउन कार्यक्रमको आयोजना गरेको बताउँदै स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उल्लेख गरे । कार्यक्रममा पूँजीबजारका विषयमा समाचार लेखिरहेका पत्रकारहरुको कमि कमजोरीलाई औल्याउदै आगामी दिनमा आवश्यक प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिन नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का कोषाध्यक्ष रोयल आचार्यले आग्रह गरे । पछिल्लो समय आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धि गराउने उदेश्य सहित नाफिजले विभिन्न निकायहरुसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया