३३ आयोजनालाइ विद्युत उत्पादन अनुमति

काठमाडौं । विद्युत् उत्पादन प्रक्रियालाई थप गति दिने लक्ष्यका साथ सरकारले चालू आर्थिक वर्षमा कूल ३३ आयोजनालाई विद्युत उत्पादनको अनुमतिपत्र दिएको छ । आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले प्रक्रिया पुगेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनालाई उक्त अनुमतिपत्र दिएको हो । चालू आवमा अनुमति दिएका आयोजनाको क्षमता मात्रै एक हजार ६८० मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म कूल २१० आयोजनालाई विद्युत् उत्पादनको अनुमति दिएको छ । ती आयोजनाको क्षमता सात हजार ९५५ मेगावाट रहेको छ ।

सरकारी तथा निजी क्षेत्रका प्रवद्र्धकले हाल करीब तीन हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेका छन् । ती आयोजनामध्ये करीब एक हजार ५०० मेगावाट क्षमताका आयोजना आगामी आवमा निर्माण सम्पन्न हुने छन् । विभागका विद्युत् उत्पादनको अनुमति लिएका तर वित्तीय व्यवस्थापन हुन नसकेका आयोजनाको क्षमता दुई हजार ९०९ मेगावाट रहेको छ ।

कूल १४४ आयोजनासँग नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरीद सम्झौता गरेको भए पनि हालसम्म वित्तीय व्यवस्थापन हुन सकेको छैन । वित्तीय व्यवस्थापन हुन नसक्दा विद्युत् उपलब्ध गराउने भनेर सम्झौतामा तोकिएको मिति समेत केही आयोजनाको घर्कन थालेको छ । विभागले चालू आवमा अनुमति दिएका आयोजनामा हेवा ए पाँच, तिला एक ४४०, तिला दुई ४२०, माथिल्लो फावा पाँच, हाँडी खोला एक मेगावाट क्षमताका आयोजना हुन् । यस्तै सुपर आँखु २५, पुवा दोस्रो पाँच, नीलगिरी खोला ६२, तल्लो मनाङ मस्र्याङ्दी १४०, मनाङ मस्र्याङ्दी २८२ मेगावाट क्षमताका आयोजना हुन् ।

विभागका अनुसार चालू आवमा नै अनुमति पाएका आयोजनामा तौथली खोला एक मेगावाट, बडीगाड चार, गच्र्याङ खोला छ, जडारी गाँड एक, माथिल्लो मस्र्याङ्दी एक १३८ मेगावाट क्षमताका छन् । त्यस्तै माथिल्लो लोहारे खोला चार, चमेलिया ८५, माथिल्लो पिलुवा पाँच, सुपर माई खोला तीन, गन्डीगाड एक मेगावाटका आयोजना छन् । विभागले अनुमति दिएका आयोजनामा कालीगण्डकी गर्ज १६४, न्यादी फिदी २१, माथिल्लो रघुगाट ४८, सुपर हेवा पाँच, मध्य कालीगण्डकी ५३, ताडी खोला तीन, बज्र माडी २४, माथिल्लो रिचेत दुई, झ्याकु खोला पाँच, माथिल्लो त्रिशुली दोस्रो १०२, निताखु खोला तीन, लिखु खोला ३० र तल्लो जोगमनी खोला छ मेगावाट क्षमता रहेको छ ।

विभागका अनुसार सरकारको ‘बास्केट’ रहेका आयोजना १०५ रहेका छन् । ती आयोजनाको क्षमता कूल दुई हजार ७८७ मेगावाट रहेको छ । यस्तै सरकारले कूल ४९ वटा आयोजना अध्ययनमा रहेको जनाएको छ । ती आयोजनाको क्षमता सात हजार ९७६ मेगावाट रहेको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपलब्ध गराएको विवरणमा चालू आवमा कूल १९५ मेगावाट विद्युत् थप भएको जनाएको छ । उक्त परिमाणमा विद्युत् थप भएपछि नेपालको विद्युत् उत्पादन क्षमता एक हजार ३२५ मेगावाट पुगेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिए । प्रसारण लाइन निर्माणतर्फ पनि उल्लेख्य प्रगति भएको छ । कूल ६६ केभी र सोभन्दा बढी क्षमताका गरी ७५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई हालसम्म चार हजार १९५ सर्किट किलोमिटर पुगेको छ । जुन गत वर्षको तुलनामा २०४ प्रतिशतले बढी हो ।

प्रतिक्रिया