रौतहट । संघीय संरचना अनुसार नेपालमा तीन तहका सरकार छन् । संघीय, प्रदेश र स्थानीय सरकार गरेर तीन तहका सरकारले ७७ वटा जिल्ला समेटेर ७ प्रदेश र ७ सय ५३ वटा स्थानीय तह रहेका छन् । १८ वटा स्थानीय तह रहेको रौतहटमा हरेक स्थानीय तहका आफ्नो नीति र नियम छन् । जनताबाट निर्वाचित जनप्रतिनिधि पनि फरक फरक विचारका छन् ।
उनीहरूले चलाएको स्थानीय सरकारका पनि फरकफरक छन् । उनीहरूले लगाएको करको विषय पनि फरकफरक छन् । जिल्लाको दक्षिण्ी भेगमा रहेको मौलापुर नगरपालिकाले आफ्नो जनतालाई करको बोझबाट मुक्त गरेको छ । मौलापुरले मालपोतको करसमेत मिनाहा गरेर कररहित नगरपालिका बनाएको छ । यो कामलाई जनताले खुलेरै प्रशंसा गरेका छन् ।
तर, जिल्लाको ठूलो नगरपालिका चन्द्रपुर नगरपालिका फेरी करका कारण विवादमा आएको छ । नगरपालिकाले विभिन्न बहानामा मठमन्दिरदेखि भित्री बाटोमा गुड्न सवारी साधनमा कर लगाउने निर्णय गरेसँगै चन्द्रपुर विवादमा तानिएको हो । नगगपालिकाले आव ०७६-७७ का लागि लगाएको विभिन्न शीर्षकका ठेक्कामा नगरवासीले कर तिर्नुपर्ने भएको छ । आफ्नै वडाबाट अर्काे वडामा जानसमेत कर तिर्नुपर्ने भएको छ ।
नगरपालिकाले चन्द्रपुर—गैंडाटार सडकमा यात्रा गर्दा ई—रिक्सा, ठेलागाडालाई प्रत्येकपटक १० रुपैयाँ, कार, जिप, ट्रयाक्टरलाई २० रुपैयाँ र बस, ट्रक, टिपरलाई ५० रुपैयाँ कर लगाउने निर्णय गरेको छ । नगरपालिकाले पूर्वाधार उपभोग करबापत भन्दै नगरवासीमाथि कर थोपर्ने काम गरेको भन्दै यसको नगरावासीले विरोध गरेका छन् ।
दिनमा पाँच सयदेखि सात सय रुपैँयाँ भाडाबापत उठाएर मजदुरी गर्दै घरचलाउनेलाई नगरपालिकाले उठिवास लगाउन खोजेको चन्द्रपुर–४ का स्थानीय बासिन्दा तथा रिक्साचालक केदार तिमल्सिनाले बताए । उनले दिनमा १० पटक ओहोरदोहोर गर्दा दुई सय करमै जाने भएकाले यो सरासर अन्याय भएको बताए । ‘दुई सय कर नै तिरेपछि बालबच्चा कसरी पढाउनु, घर कसरी चलाउनु’, उनले भने, ‘यो त सामन्ती राज भयो नि ।’ यसको विरुद्धमा मजदुर एक भई आन्दोलनमा जाने उनले चेतावनीसमेत दिए ।
यता जिल्लाकै पुरानो धार्मिक तथा पर्यटकीयस्थलमा समेत नगरपालिकाले कर लगाउने भएको छ । नगरपालिकाले नुनथरमा प्रतिव्यक्ति १० रुपैयाँ कर लगाउने निर्णय गरेको छ । यो निर्णयको नगरवासीले विरोध गरेका छन् ।
नुनथर धार्मिक हिसाबले जिल्लाको महत्वपूर्ण धार्मिकस्थल हो । त्यहाँ शिव मन्दिर रहेकाले भगवान्को दर्शन गर्न कर तिनुपर्ने दिन आएमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । ‘कहीँ नभएको जात्रा हाँडी गाँउमा’ भनेजस्तै संसारमै कहिँ कतै मन्दिर, मस्जिद र गिरिजाघरमा कर नलाग्ने हुँदा नगरपालिकाको कदम सरासर जनता मार्ने र गलत भएको स्थानीय समीर कार्कीले बताए ।
नगरपालिकाले नचाँहिदो कर लादेपछि नगरवासी रुष्ट बनेका छन् भने आन्दोलनको तयारीमा लागेका छन् । यता १० वटै वडामा आगामी वर्षबाट कर लगाउन यो पूर्व अभ्यास हुन सक्ने र यसमा वडाध्यक्षहरूले विरोध नजनाउनुले पनि जनप्रतिनिधि जनताको ढाड सेक्न नचाँहिदो कर लाद्न उद्दत रहेकोमा बुद्धिजीवीहरू चिन्तित छन् ।
राैतहट
प्रतिक्रिया