सिन्धुपाल्चोकका अधिकांश बस्ती जोखिममा

काठमाडौं । मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकका अधिकांश बस्ती बाढीपहिरोको उच्च जोखिममा परेका छन् । नदी आसपासका क्षेत्रमा घनाबस्ती भएकाले जोखिम देखिएको हो ।

सिन्धुपाल्चिोकको भोटेकोसी गाउँपालिकाको अधिकांश भूभागमा बाढी पहिरोको जोखिम बढेको छ । नदी तटीय आसपासका करिब ५ सय घर बाढीपहिरोको जोखिममा रहेको भोटेकोसी गाउँपालिकाले जनाएको छ ।

गत शनिबार राति भएको वर्षापछि स्थानीय हृयाङ्ले खोलामा उर्लिएको बाढीले कोदारी राजमार्ग छेउको चाकु हृयाङ्ले गाउँस्थित एक घर र चाकु बजार वारपार गर्ने साँघु समेत बगाएको थियो । मध्य भोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थल, टावर, एक्जाभेटर, टिप्पर जस्ता साधन, माथिल्लो भोटेकोसीको बाँधस्थल संरचनादेखि शिवश्री हाइड्रो पावर, चाकु हाइड्रोका अधिकांश संरचनामा क्षति पुगेको थियो । त्यसयता स्थानीय त्रसित बनेका छन् ।

पाँच सय घरपरिवार बाढिपहिरोको उच्च जोखिममा रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । स्थानीयलाई जोखिमबाट बचाउन सुरक्षित स्थानमा बस्न आग्रह गरिएको पौडेलको भनाइ छ । जोखिमबाट जोगिन स्थानीय सरकारले सर्वसाधारणलाई उर्दी जारी गरेको छ । उपकरण र राहतका एकसरो सामग्री भण्डारण गरेर राखेको भोटेकोसी गाउँपालिकाले जनाएको छ ।

बाढीपहिरोको उच्च जोखिममा रहेका कोदारी इको, लुक्सिङ, दुगुनागढी र चाकुका स्थानीयलाई घर–घरै पुगेर सावधानी अपनाउन सूचना गरिसकेको उनले बताए ।

बाढीपहिरोको उच्च जोखिममा परेका बस्तीलाई बर्खाभर सावधानी अपनाउन सूचित गरेको भोटेकोसी गाउँपालिकाले जानकारी दिएको छ । जोखिममा रहेका परिवारलाई खानेपानी,त्रिपालको व्यवस्था गाउँपालिकाले गरिदिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि २० लाख छ्ट्याएको थियो । जोखिम बढ्दै गएकाले आर्थिक वर्ष ७६-७७का लागि ५० लाख विपद् व्यवस्थापनका लागि छुट्याएको अध्यक्ष पौडेलले जानकारी दिए । छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तीब्बतमा अधिक वर्षा भइरहेकाले भोटेकोसी नदीमा पानीको सतह निकै माथि आएको छ ।

त्यसैगरी विपद् व्यवस्थापनका लागि बाह्रबिसे नगरपालिकाले पनि ३० लाख छुट्याएको नगरपालिकाका मेयर निम्फुन्जो शेर्पाले जानकारी दिए् । सो स्थानमा मनसुन सुरु भएसँगै दिनहुँजसो पहिरो गइरहेको छ । पहिरोले भोटेकोसी नदी थुनियो भने बाह्रबिसे तलका लामोसाँघु, खाडीचौर र कोठेलाई पनि असर गर्छ । साँधी खोल्सामाथिको सबै बस्ती उच्च जोखिममा छन् । खानीगाउँ, निँगाले, बालुवा, दमखर्क, बसेरी, बोर्डरल्यान्ड र जुरेआसपास जोखिममा परेको नगरपालिकाले जनाएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको केही बस्ती पहिरोको जोखिममा रहेका छन् । निम्लुङ, नाम्फा, बैकुण्ठे, दीपु, गुम्बाथाङ, गोन्डेगाउँ, घुँङा, पाकु र कात्तिके पहिरोको जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले विपत् व्यवस्थापनमा जम्मा पाँच लाख छुट्याएको छ ।

त्यसैगरी इन्द्रावती गाउँपालिका पनि बाढीको जोखिममा रहेको छ । इन्द्रावती नदिले आसपासका बस्तीमा प्रभाव पारेको इन्द्रवती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । ०७१ मा जुरेपहिरो, ०७२ मा भूकम्प, २०७३ असार २१ मा भोटेकोसी बाढी तथा पहिरोका कारण सिन्धुपाल्चोकका बासिन्दा त्रसित बनेका हुन् । त्यसयता पनि जोखिम मोलेरै बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया