न्युजिल्यान्ड दोस्रो पटक फाइनलमा

एजेन्सी, लण्डन । विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई १८ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा २ सय २१ रन बनाउँदै अलआउट भएको हो । भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक ७७ रन बनाए । महेन्द्रसिंह धोनीले ५० रन बनाए पनि सुरुआती तीन जना ब्याट्सम्यान भने एक रनमा आउट भएका थिए ।

यसअघि निर्धारित ओभरमा न्युजिल्यान्डले ८ विकेट गुमाएर २३९ रन बनायो । वर्षाका कारण मंगलबार स्थगित भएको खेलमा न्युजिल्यान्डले ४६ दशमलव १ ओभरमा न्युजिल्याण्डले ५ विकेटको क्षतिमा २११ रन बनाएको थियो । त्यही अवस्थाबाट सुरु भएको खेलमा न्युजिल्यान्डले आज थप २८ रन जोड्न सफल भयो । पहिलो दिन नटआउट रहेका रस टेलर र टम लाथम दुवैले व्यक्तिगत सात सात रन थपेर आउट भए ।

टेलर ७४ रनमा रन आउट हुँदा लाथमलाई १० रनमा भुवनेश्वर कुमारले पेभेलियन पठाए । १ रन बनाएर खेलिरहेका हेनरी निकलोसलाई पनि भुवनेश्वर कुमारले नै आउट गरे । मंगलबार टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डको खातामा १ रन हुँदा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डका लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले सम्हाल्ने प्रयास गरेका थिए । यी दुईका बीचमा भएको ६८ रनको साझेदारी रवीन्द्र जडेजाले तोडेका थिए ।

निकोलस २८ रन बनाएर आउट भएका थिए । कप्तान विलियमसनले अर्धशतकीय पारी खेले पनि उनले टिमको स्कोरलाई अगाडि बढाउन सकेनन् । विलियमसनले ६७ रन बनाउँदा ९५ बलको सामना गरेको थिए । कोलिन डी ग्रान्डहोम १६ रनमा आउट हुँदा जेम्स निशम १२ रनमा पेभेलियन फर्किए । भारतका लागि भुवनेश्वर कुमारले ३ तथा जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजबेन्द्र चाहलले समान एक विकेट लिए । न्युजिल्यान्डले अब फाइनलमा अष्ट्रेलिया र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया