अग्निदहन बजारमा

काठमाडौं । विज्ञान कथाकार तथा सञ्चारकर्मी लोकमणि पौडेलद्वारा लिखित उपन्यास ‘अग्निदहन’ बजारमा आएको छ । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उक्त उपन्यासको विमोचन गर्दै साहित्यले समाजको आँखा खोल्ने बताइन् ।

उपन्यास बारे आफ्नो धारणा राख्दै शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले कृति मनोरञ्जक हुनुका साथै उद्देश्यपूर्ण भएकाले यसलाई स्कूल तथा कलेजले पाठ्यक्रममा समावेश गर्नुपर्ने बताए । उनले समाजमा घटिरहेका घटनालाई जस्ताको तस्तै उतार्न सक्ने लेखकको खुबी रहेको जिकिर गरे ।

त्यस्तै, साहित्यकार, समालोचक तथा भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेलले वैज्ञानिक ढंगबाट सामाजिक रूपान्तरणको संकल्प बोकेको हुँदाहुँदै पनि उपन्यास पढ्दा समय गएको पत्तै नपाइनु यसको मुख्य विशेषता रहेको बताए । उनले उपन्यासको भाषा सरल तथा लोकबोलीलाई यथारूपमा पस्कनु प्रमुख विशेषता रहेको धारणा राखे ।

पूर्वसमाजकल्याण मन्त्री जाकिर हुसेनले लेखकको लेखनशैलीबाट आफू पहिलेदेखि नै प्रभावित हुँदै आएको बताए । उनले यो उपन्यासले विज्ञान र समाजप्रतिको धारणालाई बुझ्न र नियाल्न सहयोग पु¥याउने बताए ।

उनले भने, ‘उपन्यास मनोरञ्जक हुनुका साथै समाजका विविध आयाम र परिवेशलाई बुझ्न सजिलो छ । यो कृति उद्देश्यमूलक ढंगले आएकाले साहित्यका क्षेत्रमा एउटा कोसेढुंगा सावित हुने विश्वास लिएको छु ।’

उपन्यासकार लोकमणि पौडेलले आफूले यो उपन्यास समाजमा घटिरहेका घटनाहरूको नजिकबाट अध्ययन गरेर लेखेको बताए । उनले उपन्यास पूरा गर्न पाँच वर्ष लागेको जनाउँदै भने, ‘उपन्यासमा वर्णन गरिएका घटनाहरू सत्य हुँदाहुँदै पनि पात्रहरूको नामलाई परिवर्तन गरेर निजी जीवनलाई खलल नपुर्याउने चेष्टा गरेको छु ।’

उनले उपन्यासमा ०६७ सालदेखि ०७२ सालसम्मका विविध घटनालाई समावेश गरेको बताउादै लेखन आरम्भ गरेर सिध्याउन मात्रै पाँच वर्ष लागेको जानकारी दिए । पौडेलले उपन्यासको कथा मनपारएर पाण्डुलिपि अवस्थामै एउटा सामाजिक संस्थाले चलचित्र तयार गरेको जनाउँदै उनले भने, ‘त्यो चलचित्रलाई चलचित्र विकास बोर्डले ०७४ को सर्वश्रेष्ठ सामाजिक चलचित्रको पुरस्कार प्रदान गरेको थियो ।’ तैपनि चलचित्रको समयसीमाका कारणले उपन्यासका सबै प्रसंगलाई भने समेट्न नसकेकोले पुस्तकाकार रूपमा पाठकमाझ आएको उनले जिमिर गरे । उपन्यास गोरखा पब्लिकेसन्स प्रालिले प्रकाशन गरेको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा भाषाशास्त्री मुकुन्दशरण उपाध्यायले उपन्यासले समाजका विविध पक्षलाई उजागर गर्न सफल भएको बताए ।

प्रतिक्रिया