ट्रयाक्टर र मिनिटिलरले हलगोरु विस्थापित

म्याग्दी । प्रविधिको बढ्दो प्रयोगसँगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ ।

नेपालीको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरूपमा प्रयोग हुँदै आएको हलगोरुको ठाउँमा अब खेतका गरा र फोहोटामा पनि ट्रयाक्टर  र मिनिटिलर प्रयोग हुन थालेका छन् । गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो, जुवालगायतका परम्परागत कृषि सामग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ ।

कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको छ । कृषक निर्वाहमुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् । परम्परागत तरिकाले खेती लगाउँदा व्यहोर्नुपर्ने धेरै किसिमका झण्झटबाट पनि मुक्ति मिलेको कृषक बताउँछन् ।

‘पहिलापहिला खेत जोत्नका लागि हली र गोरु खोज्नुपर्ने, गोरुलाई घाँसको व्यवस्था गर्नुपर्ने, दिनभरि गोरुको पछिपछि हिलोमा ओहोरदोहोर गर्नुपर्ने लगायतका धेरै झन्झट हुने गर्थे’, मिनिटिलरबाट खेत जोतेर रोपाइँ गर्दै गरेका बेनी नगरपालिका–४ सिंगाका कृषक नारायण पौडेलले भने, ‘अहिले पानीको मात्रै जोहो गर्न सक्यो भने हाइसञ्चो हुन्छ । मिनिटिलर वा ट्र्याक्टर लगायो धने एकैछिनमा मेलो सकिन्छ ।’

‘गोरुले जोत्दा ६÷सात दिन लाग्ने मेलो (खेत) मा मिनिटिलर वा ट्र्याक्टरबाट एकै दिनमा सकिन्छ’, उनले भने, ‘लागत र झन्झट पनि कम हुनेहुँदा परम्परागत हलगोरुको साटो यान्त्रिक पद्धतितर्फ आकर्षण बढेको हो ।’ ‘रोपाहार र बाउसेको व्यवस्था हुने हो भने हलोले ६÷सात दिन लाग्ने खेत मिनिटिलरबाट एक दिनमा नै रोपेर सकिन्छ’, बेनी नगरपालिका–२ का कृषक भीमबहादुर रिजालले भने ।

वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदुर र जनशक्तिको अभाव हुन थालेका वेला मिनिटिलर र ट्र्याक्टर उपयोगी माध्यम भएका स्थानीय कृषकले बताए । अहिले म्याग्दीका सबै गाउँमा मिनिटिलरले प्रयोग व्यापकरूपमा हुन थालेको छ । हलगोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, बाह्रै महीना घाँसपात गर्ने र हेरालु राख्नुपर्ने झन्झट पनि हटेको कृषकको भनाइ छ ।

प्रविधिको प्रयोग गरेर खेती गर्न थालिएपछि म्याग्दीमा वर्षौंदेखि बाँझो रहेको जमिनमा पनि पछिल्लो समय खनजोत गरी खेती गर्न थालिएको छ । अग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको मंगला गाउँपालिकाले कृषिमा यान्त्रीकरण र व्यावसायीकरण गर्दै बाँझो जमिनलाई पनि हराभरा बनाउने अभियान थालेको छ । ‘अब कृषि क्षेत्रमा पहिलाको जस्तो झन्झट छैन, प्रविधिको प्रयोग गरेर गाउँमा बाँझो रहेको जग्गाको सदुपयोग गरी आग्र्यानिक खेतीमा जोड दिएका छौँ’, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

म्याग्दीका ६ वटै स्थानीय तहले कृषिमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिँदै मिनिटिलरदेखि लिएर विभिन्न किसिमका कृषि उपकरण कृषकलाई निःशुल्क वा अनुदानमा वितरण गरेका छन् । म्याग्दीको ३ हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले गत साल म्याग्दीमा १३ हजार ९ सय ७८ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए ।

म्याग्दीमा गौरी, जर्नेली, गुडुरा, जेठोबूढो, मार्सी, ताकमारे, भट्टे पहेंलोलगायतका रैथाने र छमरुङ, माछापुच्छ«े, अन्नपूण–३, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गरेको छ ।

प्रतिक्रिया