लालबन्दीमा वाङ्मय संगोष्ठी

सर्लाही । भाषा तथा साहित्यको विकास तथा प्रवद्र्धन गर्ने लक्ष्य राखेर प्रदेशस्तरीय बृहत् वाङ्मय गोष्ठी भएको छ ।

प्रदेश २ सर्लाहीको लालबन्दी नगरपालिका र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आत्मनिर्भर युवा परिचालन समाज, लालबन्दीले उक्त कार्यक्रम गरेका हुन् । उक्त वाङ्मय संगोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लालबन्दीमा यसप्रकारको संगोष्ठी आयोजना हुनु उल्लेखनीय कार्य भएको बताए ।

उनले भने, ‘आगामी दिनमा पनि लालबन्दी नगरपालिका र प्रज्ञा–प्रतिष्ठानबीच यस्ता कार्यक्रमहरू आयोजना गरिनुपर्छ । नगरको भाषा, साहित्य, कला तथा संस्कतिको विकासका लागि नगरपालिकाले नगर साहित्य परिषद् गठन गर्नु आवश्यक छ ।’

उक्त कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बूले प्रदेश २ मा साहित्यको समृृद्धि र विकासमा लालबन्दी अग्रस्थानमा रहेको बताए । उनले भने, ‘आगामी दिनमा यस्ता सिर्जनात्मक कार्यक्रमलाई अझ व्यवस्थित ढंगले अगाडि बढाउनुपर्दछ ।’ त्यस्तै, लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नगर साहित्य परिषद् गठनका लागि नीतिगत तथा कानुनी कुराहरू बुझेर तत्कालै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता प्रकट गरे । नगरपालिकाकी उपप्रमुख शान्ति लामाले नगरपालिकाले साहित्यको प्रवद्र्धनका लागि काम गरिरहेको जनाउँदै भनिन्, ‘नगरभित्र साहित्यको विकासका लागि आवश्यक कार्य गर्न नगरपालिका तयार रहेको छ ।’

उक्त संगोष्ठीमा उपप्राध्यापक नवराज रिजालले ‘प्रदेश २ का १० मातृभाषा र तिनको साहित्यिक अवस्था’ र उप–प्राध्यापक सुमन घिमिरेले ‘प्रदेश २ मा अनुवाद साहित्य ः एक सिंहावलोकन’ विषयक कार्यपत्र प्रस्तुत गरे । ती कार्यपत्रमाथि साहित्यकार गोपाल अश्क र कविराज सुवेदीले टिप्पणी गरे । कार्यक्रममा प्रदेश २ का ८ वटा जिल्लाका स्रष्टाको प्रतिनिधित्व रहेको थियो ।

सो अवसरमा सर्लाही साहित्य समाजले साहित्यकार गोपाल अश्कलाई विशेष सेवा सम्मान, साहित्यिक पत्रिका गोलसिमल मासिकका प्रधानसम्पादक अच्युत अधिकारीलाई साहित्यिक पत्रकारिता सम्मान, कवि तथा समालोचक सुमन घिमिरेलाई साहित्य सेवा सम्मान र पत्रकार रोहित पौडेललाई पत्रकारिता सम्मानद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा कथाकार देवराज पौडेलको ‘मोडहरू’ कथा संग्रह र सर्लाही साहित्य समाजद्वारा प्रकाशित ‘सर्लाहीका महिला हस्ताक्षर’ कविता संग्रहको विमोचनसमेत गरिएको थियो ।

प्रतिक्रिया