सात लाखको पुस्तक बिक्री

काठमाडौं । पठन संस्कृतिको विकास गर्ने लक्ष्य राखेर गरिएको प्रदर्शनीमा सात लाखका पुस्तक बिक्री भएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवको सन्दर्भ पारे आयोजना गरिएको पुस्तक प्रदर्शनीमा तीन रुपैयाँदेखि एक हजार ४ सयसम्मका कृति बिक्री भएको प्रतिष्ठानले जनाएको छ । तिनको महेन्द्र प्रकाशन मालादेखि एक हजार ४ सयको प्रज्ञा–अंग्रेजी–नेपाली शब्दकोष राखिएकामा एक हजार ३ सय ५० मूल्यको ‘शब्दकोष’ २०० प्रति बिक्री भएको प्रतिष्ठानले जनाएको छ ।

विभिन्न समयमा प्रकाशित भएका कृति तथा पत्रपत्रिकासमेत गरी करिब ४०० कृति बिक्रीका लागि राखिएको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । विभिन्न उमेर समूहका विद्यार्थी, शिक्षक, पुस्तकका पारखी, साहित्यकारका साथै पुस्तक व्यवसायीले अवलोकन गरेको प्रदर्शनीमा करिब १० हजारले अवलोकन गरेका थिए । निजी क्षेत्रका पुस्तक प्रकाशन गृहले करिब चार लाख बराबरको पुस्तक खरिद गरेको जनाइएको छ ।

नेपालका विभिन्न जाति, संस्कृतिका इतिहास, परम्परा तथा संस्कारबारे प्रतिष्ठानले प्रकाशित गरेका कृतिका साथै स्वदेशी साहित्यकारका महत्वपूर्ण कृतिलाई अंग्रेजी, हिन्दी भाषामा तथा विदेशीका कृतिलाई नेपालीमा अनुवाद गरी प्रदर्शनीमा राखिएको थियो । प्रतिष्ठानको सुरुआतदेखि विसं २०६७ सम्मका कृतिलाई ६० प्रतिशत र ०६८ देखि हालसम्मका प्रकाशित कृतिमा ४० प्रतिशत छुटमा उपलब्ध गराइएको थियो । प्रतिष्ठानले वार्षिकोत्सवका साथै राष्ट्रिय महत्वका विभिन्न कार्यक्रम र ठूला साहित्यकारको स्मृतिमा समेत यस किसिमका प्रदर्शनी गर्ने गरेको छ ।

प्रतिक्रिया