बाल यौनदुराचारमा पिटरलाई ९ वर्ष जेल

काठमाडौं । बाल यौन दुराचार गर्दै आएका सयुक्त राष्ट्रसंघ (युएन)का पूर्व वरिष्ठ कर्मचारीलाई काभ्रे जिल्ला अदालतले कसुरदार ठहर गर्दै कैद तथा जरिवाना तोकेको छ । गरिब तथा विपन्न परिवारका बालबालिकालाई पढाइदिने प्रलोभन देखाउदै लामो समयदेखि बालयौन दुराचार गर्दै आएका ६३ वर्षीय क्यानडियन नागरिक पिटर जोन डालगिल्सलाई अदालतले दोषी ठहर गरेको हो ।

काभ्रेका जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले असार २३ गते दण्ड तथा सजायसम्बन्धी फैसला सुनाउँदै पिटरमाथि कम्तीमा ९ वर्षको जेल सजाय सुनाएका हुन् । उनलाई यसअघि नै दोषी ठहर गरे पनि सोमबार मात्र सजाय सम्बन्धी फैसला सुनाइएको हो ।

डालगिल्सको यौन दुराचार गरेको पुष्टी भएका दुई बालकलाई जनही ५ लाख क्षतिपूर्ति तथा केस २९५ (पीडितको नाम गोप्य राख्न प्रयोग गरिएको कोड)मा ९ वर्ष कैद तथा केस २९४ मा सात वर्ष कैद हुने आदेश गरिएको छ । घटना नया कानुन लागु हुनुपूर्वको रहेकाले पुरानो काुननअनुसार पिटरलाई ९ वर्षको जेल सजाय सुनाइएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले काभ्रेको मण्डन देउपुरबाट २०७४ साल चैत २४ गते पक्राउ गरेको थियो । मन्डन, देउपुर नगरपालिका–१ मा करीब १४ रोपनी जग्गामा विलासी ‘भिल्ला’ बनाएर बालयौन दुराचार गरेको आरोपमा सिआइबीले डालगिल्सलाई दुई बालकका साथमा पक्राउ गरेको थियो । स्थानीय दुईजना बालक र किशोरसँग अप्राकृतिक मैथुन गरिरहेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको सिआइबीले दाबी गरेको थियो । त्यसपछि सरकारी वकिलमार्फत् पिटरबिरुद्ध बाल यौन दुराचारको मुद्दा दायर भएको थियो ।

डालगिल्सले स्ट्रिट किड्स इन्टरनेसनल नामक गैर सरकारी संस्था खोलेर बालबालिकाको हितमा काम गर्ने भन्दै यौन दुराचार गर्ने गरेको देखिएको थियो । उनी लाइबेरियामा विश्व स्वास्थ्य संगठनमा वरिष्ठ सहरी विकाससम्बन्धी सल्लाहकारको रूपमा काम गरेको, अफगानिस्तानमा युएन हेविटयटमा राष्ट्रिय प्रतिनिधिमा रूपमा काम गरेको समेत अनुन्धानमा देखिएको थियो । त्यसका साथै डाफरमासमेत काम गरेको उल्लेख थियो ।

प्रतिक्रिया