के तपाईंलाई काठमाडौंको सुनधारामा एकनासले निरन्तर पानी झरिरहेको थाहा छ ? त्यो पनि एउटा धारामा मात्र होइन, सुनधाराका सबै धारामा त्यतिकै फोर्सबाट पानी झरिरहेको हुन्छ ।
नेपाल भाषामा लुँहिटी भनिने यो धारामा २४सैँ घण्टा निरन्तर पानी झरिरहने भएकाले काठमाडौंवासीले २०३० को दशकसम्म दुवै हातको अञ्जुली थापेर पानी पिउने, नुहाउने तथा लुगा धुने गर्थे । हाल आएर यो कुरा उहिलेको कथाजस्तो भइसक्यो ।
लुँहिटी मात्र होइन, काठमाडौंको नजिकैको अर्को मरुहिटीमा पनि चारैतर्फका सबै धारामा पनि एकनासले २४सै घण्टा निरन्तर पानी झरिरहेको हुन्थ्यो । त्यस्तै, बालाजुस्थित २२ धारामा पनि ठूलो वेगले पानी झरिरहेको अवस्था थियो । त्यसवेलाको लुँहिटीको वेग सम्झिँदै बालाजुका रमेश सायमी भन्नुुहुन्छ, ‘झण्डै चार दशकअघिसम्म बालाजुका सबै धारामा २४सै घण्टा वेगका साथ पानी झर्ने भएकाले काठमाडौँका विभिन्न ठाउँबाट यहाँ नुहाउन र लुगा धुन आउनेको सङ्ख्या धेरै हुन्थ्यो । हिजोआज यस्ता लुँहिटीमा पानी झर्दैन । कतिपय लुँहिटीमाथि कालो ट्यांकी राखेर पानी झारेको देख्न पाइन्छ ।
हजारौँ वर्षदेखि अस्तित्वमा रहेको लुँहिटी, वह हिटी तथा ल्हाँेहिटीका बारेमा आफ्नो गीतमा कवितामार्फत नेपाल भाषाका सुप्रसिद्ध जनकवि दुर्गालाल श्रेष्ठले लुबुँ बहबुँमा ढुंगेधाराको विषयमा यसरी वर्णन गर्नुभएको छ, ‘लुँहिटी, वहहिटी, ल्होँहिटी नं हिटी हे मखुला ? मन दुने तस्बीर दैन, भ्वँया तस्बीर माला दाइचा, बहेँला मजुला ? अर्थात् चाँदीको धारा त अस्तित्वमा छैन । तर सुनको धारा काठमाडौं तथा ललितपुरमा अस्तित्वमा छ । ल्हाँेहिटी त टोलटोलमा अझै देख्न पाइन्छ ।”
नेवारी कला र संस्कृतिले भरिपूर्ण काठमाडौं उपत्यकामा जताततै पाइने ढुंगेधारा नेवार समुदायको मौलिक सम्पत्ति मात्र नभई विदेशीका लागि चिनाउने महत्वपूर्ण पहिचानको आधार पनि हो ।
काठमाडौं उपत्यकाका ठाउँठाउँमा नेवार समुदायका अग्रजले प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्वका ढुंगेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान तथा गरिमा बोकेको छ । हिजोआज उखरमाउलो गर्मीमा यस्ता ढुंगेधाराको सम्झना जो कसैलाई हुन्छ । पानीको अभाव झेलिएको अहिलेको अवस्थामा यसका विभिन्न स्रोतका विकल्पमध्ये एउटा उपयुक्त विकल्प ढुंगेधारा हो । चिसो र शीतल पानीको स्रोत ढुंगेधाराबाट झरेको पानी काठमाडौंका जनताले सयौँ वर्षदेखि निरन्तर उपभोग गर्दै आएका छन् । जमीनमुनि जलभण्डारमा सञ्चित पानी ढुंगेधारामार्फत चौबिसै घण्टा झर्ने व्यवस्था यसमा मिलाइएको हुन्छ ।
ढुंगेधारा हिजोआज मात्रै विकास भएको प्रणाली होइन । यसको पछाडिको इतिहास लिच्छवीकालसम्म जोडिएको छ । लिच्छवी राजा मानदेवका पालामा बनेको ढुंगेधारा अहिलेसम्मकै सबैभन्दा प्राचीन मानिन्छ ।
उत्कृष्ट कलाकौशलका रूपमा रहेका काठमाडौं, ललितपुर तथा भक्तपुरका टोलटोलका यस्ता ढुंगेधाराको मुख्य विशेषता भनेको चौबिसै घण्टा पानी बगिरहनु हो । नेपाल भाषा र संस्कृतिसँग प्रत्यक्ष जोडिएको ल्होँहिटी, लुँहिटी, मरुहिटी, थँहिटी र क्वहिटी उपभोक्तामाझ लोकप्रिय छन् । लगनका किरण ज्यापु काठमाडौंको लुँहिटीजस्ता धारा सुकेकामा सरकारको ध्यान नगएकामा गुनासो गर्दै अब त संघीय र प्रदेश सरकारले यसको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘नेवार बस्तीभित्रका ढुंगेधारा राष्ट्रिय सम्पत्ति हो । यसको संरक्षणका लागि सरकारले राष्ट्रिय नीति तयार गरेर छुट्टै बजेटको व्यवस्था गरी ल्होँहिटीको संरक्षणका लागि योजनाबद्ध कार्यक्रम ल्याउनुपर्छ ।”
सिन्धुपाल्चोक निवासी बानेश्वरमा बस्दै आउनुभएका दुर्गाबहादुर लामाले पानीको स्रोतको विकल्प, ऐतिहासिक महत्व तथा नेवार समुदायको छुट्टै पहिचान जोडिएका कारण यसको संरक्षण गर्नुपर्छ भन्नेमा कुनै दुई मत नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीव्र सामाजिक परिवर्तन एवं ७६ जिल्लाबाट मानिस ओइरिने क्रमबाट ऐतिहासिक महत्व बोकेका धेरैजसो ढुंगेधारा सुकेका छन्, जुन निकै दुःखद् छ । केही वर्षअघिसम्म मरुहिटीजस्ता प्रसिद्ध ल्वँहिटीबाट गैरनेवार समुदायले पनि पानी प्रयोग गर्दै आएका छन्, पानी अभावका वेला यी ढुंगेधाराले केही राहत भन्ने अवश्य दिएको थियो ।”
हालै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले काठमाडौं उपत्यकाभित्रका १० नगरपालिका क्षेत्रभित्र रहेका ढुंगेधारा तथा पोखरीको स्थलगत अध्ययन गरी तयार पारेको ‘काठमाडौं उपत्यकाभित्रका ढुङ्गेधारा तथा पोखरीको लगत नक्सांकनसम्बन्धी’ पुस्तकमा हिजोको प्राचीन जीवन्तता, शैली, कला तथा परम्परा झल्किने ढुंगेधाराबाट पानी थाप्ने अवसर पाउने गरी ढुंगेधाराको विकास गर्नुपर्नेमा जोड दिइएको छ । काठमाडौं र ललितपुर महानगरपालिका तथा, भक्तपुर मध्यपुरथिमि कीर्तिपुर महालक्ष्मी, गोदावरी, चन्द्रागिरि, शङ्खरापुर र टोखा नगरपालिकाभित्र रहेका ढुंगेधारा र पोखरीको अध्ययन गरी यो पुस्तक तयार पारिएको हो ।
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाभित्र १९ ढुंगेधारा रहेकामा चार पूर्णरूपमा लोप भइसकेको र सात पोखरीमध्ये चार मात्र अस्तित्वमा रहेको बताउनुभयो ।
पुस्तक तयारीका लागि अनुसन्धानमा जुट्नुभएका पद्मसुन्दर जोशीका अनुसार नेपालमण्डलभित्र पोखरी, इनार तथा ढुंगेधाराको राम्रो सम्बन्ध छ । काठमाडौं, ललितपुर तथा भक्तपुरमा राजकुलो रहेको र राजकुलोमार्फत पानी ढुंगेधारामा आउने व्यवस्था गरिएको पाइन्छ । यस्ता राजकुलो काठमाडौंको बूढानीलकण्ठ, ललितपुरको टीकाभैरव तथा भक्तपुरको बागेश्वरीमा छन् ।
काठमाडौं उपत्यकाका १० नगरपालिकाभित्र ५७३ ढुंगेधारामध्ये स्थलगत अध्ययनका क्रममा ४७९ मात्र भेटिएको पुस्तकमा उल्लेख गरिएको छ । बाउन्न ढुंगेधारा मासिएको पाइएको पुस्तकमा उल्लेख छ । स्थलगतरूपमा खोजीका क्रममा ४२ पत्ता नलागेको अवस्थामा छ । अनुसन्धानकर्तामा नेपाल भाषाको ज्ञानको कमी तथा स्थानीय व्यक्तिले समेत पुखु तथा धाराको नाम थाहा नहुने र हिटीको इतिहास तथा पानीको स्रोत थाहा नहुने स्थिति भएकाले अनुसन्धान गर्नेलाई पनि गाह्रो हुने गरेको पुस्तकमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया