मुगु । छायाँनाथ रारा नगरपालिका वडाहरूमा ४५ लाख बराबरको बजेट सिलिङमा सहमति भएपछि नगरसभा हुने निश्चित भएको छ ।
मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकामा अनिश्चितजस्तो देखिएको नगरसभा शनिबार बसेको नगर कार्यपालिकाको बैठकमा वडास्तरका योजनाहरूको कुल ४५ लाखको सेरोफेरोमा योजनाहरू बनाउने सहमति भएपछि नगरसभा हुने सुनिश्चित भएको हो ।
नितिगत रूपमा गत १० गतेभित्र स्थानीय सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने भए पनि यहाँका वडाध्यक्षहरूले वडामा एक करोड माग गर्दै बस्तीस्तरबाट आएका योजनाहरूको प्राथमिकता नगरपालिकामा पेस गर्नुपर्नेमा वडा कार्यालयहरूले पेस नगरेपछि नगरप्रमुखको आदेशले २१ गते सारिएको थियो । २१ गते नगरसभा हुनुपर्नेमा त्यो वेला पनि वडाबाट योजना पेस नभएपछि सो दिन नगर कार्य पालिकाको बैठक बसी वडास्तरमा ४५ लाखको बजेट सिलिङ दिने सहमतिपछि असार २८ गते नगरसभा हुने निर्णय भएको नगरप्रमुख हरिजंग शाहीले बताए ।
समुदायको आधार बजेट बाँडफाँड
वडाको बजेट सिलिङ दामासायी नभएर जनसंख्या, भूगोल, शिक्षा, पछाडि परेका समुदायलाई आधार मानी बजेट सिलिङ वडा कार्यालयहरूलाई पठाइने र सोही सिलिङको आधारमा बस्तीस्तरबाट आएका योजनाहरू प्राथमिकताको आधारमा बजेट बाँडफाँड हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए । यसरी बाँडफाँड गर्दा नगरका १४ वडाहरूमध्ये सबैभन्दा बढी वडा–१३ ले ४७ लाख र सबैभन्दा कम वडा– ९ ले ४० लाखको सिलिङ पाएको पनि जानकारी दिए । यो वर्ष नीतिमा टेकेर स्थानीय तह योजना तर्जुमा दिग्दर्शन २०७५ को दफा ५.५.५ मा गरिएको नीतिगत विधिअनुसार बजेट बाँडफाँड गरिएको पनि नगरपालिकाले जनाएको छ ।
वडामा बजेटको सिलिङ कम हुँदा जनताका आवश्कताका योजनाहरू कम छनौट हुने भएकाले बजेटको सीमा बढाउन नगरप्रमुखसँग आग्रह गरेको र स्रोत सुनिस्चितताको खोजीले गर्दा नगरसभाको अवधि लम्बिएको र शनिबार भएको सहमति र कार्यपालिकाको निर्णयअनुसार आगामी २८ गते छायाँनाथ रारा नगरपालिकाको पाँचौ नगरसभा हुने निर्णय भएको वडा–२ का वडाध्यक्ष परेगराज चौलागार्इंले बताए ।
सोरुमा २३ करोड ५० लाख बजेट
जिल्लाका अन्य स्थानीय तहहरू मध्ये सोरु गाउँपालिकाले असार १० गते नै गाउँसभा उद्घाटन गरी शनिबारबाट सम्पन्न गरेको छ । आगामी आर्थिक वर्षका लागि २३ करोड ५० लाख बजेट ल्याएको छ भने ११ वटा वडापालिकालाई वडास्तरमा नै छलफल गरी योजना सञ्चालन गर्ने गरी ४१ लाख ५० हजारप्रति वडाले खर्च गर्ने भएका छन् । खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाले पनि आगामी आवको बजेट ल्याइसकेका छन् । तर, सञ्चार सेवा प्रभावकारी नहुँदा विस्तृत जानकारी भने आउन सकेको छैन ।
प्रतिक्रिया