काठमाडौं । १४ औं महाधिवेशन आउन करिव आठ महिना बाँकी रहदा नेपाली कांग्रेसले त्यसको प्रक्रिया शुरु गरेको छ । संस्थापनइतर पक्षले निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने माग गरिरहेकाबेला प्रक्रिया शुरु भएको हो । यद्यपी नेतृत्वविच अन्तरिम संरचना बनाएलगत्तै १४ औं महाधिवेशनको प्रक्रिया सुरु गर्ने सहमति भएको छ ।
पार्टी कार्यालय सानेपामा आइतवार साँझ मात्र बसेको केन्द्रीय समिति बैठकले १४ वटा एजेण्डा तय गर्दै शुक्रबारसम्मका लागि स्थगित भएको छ । १४ औं महाधिवेशनलाई बैठकको एजेण्डा नबनाएपछि सभापति शेरबहादुर देउवाले शिर्ष नेताहरुसँग पार्टी कार्यालय झण्डै चार घन्टा कोठे बैठक चलेको थियो । वरिष्ठ नेता पौडेल समूहले महाधिवेशनलाई एजेण्डा नबनाए बैठक नै बहिस्कार गर्ने चेतावनी दिएपछि देउवा दवावमा परेका थिए । उनले सो समुहसँग मौखिक रुपमा सहमति गरेको नेताहरुले बताएका छन् । पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टीको अन्तरिम संरचना बनाए लगतै १४ औं महाधिवेशनको कार्यतालिका बनाएर प्रक्रिया अगाडि बढाउने विषयलाई बैठकको एजेण्डा बनाउने सहमति भएको छ ।
कांग्रेसले वडा, स्थानीय तह, क्षेत्रीय र प्रदेशमा अन्तरिम संरचना अहिलेसम्म बनाएको छैन । भदौभित्र अन्तरिम संरचना बनाइसक्ने लक्ष्य कांग्रेसले लिएको छ । अन्तरिम संरचना बनाएलगत्तै १४ औं महाधिवेशनको कार्यातालिका बनाएर प्रक्रिया अगाडि बढ्ने भनिएपनि निर्धारित मितिमा महाधिवेशन नहुने पक्का जस्तै छ । देउवा डेढ वर्ष कार्यकाल थप्ने तयारीमा छन् भने इतरपक्षले भने बढिमा ६ महिनामात्र थप्नुपर्ने जिकिर गर्दै आएका छन् । कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल फागुनमा पूरा हुन्छ । कांग्रेसको विधानअनुसार ६- ६ महिना गरेर एक वर्ष म्याद थप गर्न सकिन्छ ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेण्डा प्रस्तुत गरेका छन् । पहिलो एजेण्डा नियमावली प्रस्तुत गर्ने भने दोस्रो अन्तरिम संरचना गठन पश्चात १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गरेर प्रक्रिया थाल्ने छ । यस्तै क्रियाशील सदस्यता नवीकरण, राष्ट्रिय जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठान र अनुशासन समितिको प्रगति विवरण, भ्रातृ तथा शुभेच्छुक संगठनको विधान संशोधन र मान्यता प्रदान, कार्यकाल सकिएका भ्राृत संगठनहरु, जनसम्पर्क समितिलगायत पनि बैठकको एजेण्डामा परेका छन् । आइतबारकै बैठकमा संयोजक रमेश लेखकले ‘नेपाली कांग्रेसको नियमावली, २०७६’ प्रस्तुत गरेका छन् । नियमावलीको मस्यौदा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई वितरण गरिएकाले अर्को बैठक असार २७ गते बोलाइएको छ ।
प्रतिक्रिया