काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्थालाई कृषि उत्पादनतर्फ जोड्नुपर्ने बताएकी छन । अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले कृषिको आयात प्रतिस्थापन गर्न सहकारी मुख्य विकल्प बन्न सक्ने बताएकी हुन । मुलकभर झन्डै ३५ हजार सहकारी भएपनि कृषिमा सहकारी संस्थाको आकर्षण छैन । राज्यले कृषिलाई व्यावसायिक बनाउन अनुदान तथा सहुलियत कर्जाको व्यवस्था गरे पनि कृषिको आयात भने घटेको पाइँदैन । नेपालका सहारी संस्थासँग झण्डै रु ७ खर्ब पूँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगारी र ६३ हजार व्यक्ति सहकारीमा आबद्ध छन् ।
जुलाई ६ मा अन्तर्राष्ट्रिय सहकारी दिवस पर्छ । यस वर्ष उक्त दिवसको नारा ‘मर्यादित कामका लागि सहकारी’ भन्ने रहेको छ । प्रत्येक वर्ष नेपालमा सहकारी महासंघको आयोजनमा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने चलन छ ।
ललितपुरमा तीनवटा सहकारी संस्थाको स्थापना दिवसको अवसर पारेर यस वर्षको उत्कृष्ट सहकारी पुरस्कार २०७५ ललितपुरको बहुउद्देश्यीय सहकारी सङ्घलाई र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार क्रमशः प्रदेश १ बाट शुभलक्ष्मी सहकारी संस्था लि गौरादह–१ झापालाई, प्रदेश २ मा मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लि हरिवन सर्लाहीलाई, प्रदेश ३ मा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि ललितपुरलाई प्रदान गरिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशमा आदर्श सञ्चार सहकारी संस्था बागलुङ, प्रदेश ५ मा सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था रुपन्देही, कर्णाली प्रदेशमा साना किसान कृषि सहकारी संस्था सुर्खेत र सुदूरपश्चिम प्रदेशमा किसान बहुउद्देश्यीय सहकारी संस्था कैलालीलाई नगद २० हजारसहित सम्मान गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा दिलबहादुर गुरुङले सहकारी संस्थाले ऋण असुली र लगानी मात्र नगरी उत्पादन तथा सामाजिक दायित्वसमेत निर्वाह गर्नुपर्ने बताए । त्यस्तै, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)का आवासीय प्रतिनिधि आयसानी मेडागानगोडा लेवले नेपालमा सहकारी संस्थालाई कृषि क्षेत्रमा जोड्न नसकेको बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) की सदस्य ओमदेवी मल्लले नेपालको स्वाधीनतामा सहकारी संस्थाको महत्वपूर्ण योग्दान रहेको बताईन । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको अध्यक्षतामा सम्पन्न सो दिवसमा पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा, गणेश साहलगायतले नेपालको सहकारी आन्दोलनका बारेमा आ–आफ्ना धारणा राखे ।
प्रतिक्रिया