– अप्सना चौलागाईं
तिम्रो सहरको सबैभन्दा बदनाम मान्छे म,
मेरो दर्शन, तिम्रो सभ्यताको बाटोबाट मोडिएको
मेरो अस्तित्व भीडमा छालझैँ पछि छुटिएको
मेरा रहरहरू, सस्तो भट्टी–पसलमा
सधैं मैसँग टुक्रिरहन्छन्
छोडिदिउँ भन्छु एकसाथ
यी आश र काँचका गिलासलाई
तर, रातको नीरवतामा
तिमीजस्तै एउटा छाया,
सधैँ सधैँ मलाई बोलाइरहन्छ
आधा बाँचेर म
आफ्नो चोटलाई
मल्हम–शब्दले भरिरहेछु
तिमी बुझ्दैनौ तापनि म भन्छु,
तिमीलाई घृणा गर्न नसक्नुको पीडा
जानीजानी म सधैं भोगिरहेछु
अव्यक्त दुःखको कथा
तिम्रो सहरको घोर अपराधी म
सायद मेरो झुत्रो कपडा र किताबले
भरिएको कोठाले
केही रहस्य लुकाउँछ…
भावनाका कथासँग असम्बन्धित
सम्बन्धहरूले केही झल्काउँछ
नसुतेका रातहरू, म रक्सीसँग सम्हालिँदै
कोरिदिन्छु कविता पत्रमा
र मेरो मुखबाट रक्सी होइन प्रिय
पुरानो देवताको लास गनाउँछ
भन त यी सिद्धान्त र धारणाहरूमा
म मेरो मौलिक धुन कसरी साँचू ?
लडाइँ छोडि घुँडा मोडी
विनाचोट के म खोक्रो बाचूँ ?
तिम्रो सहरको प्रसिद्ध पागल म
तरंगीत बाटो छ मेरो छुट्टै
म स्थापित समाजको परिणाम होइन
मेरो शौखमा जिन्दगी छ
तर मेरो जिन्दगी मेरो शौख होइन
म अझै सत्य सुनेर भाग्दछु,
तिमी झुटको जालमा
आफूलाई सुरक्षित ठान्दछौ
म रातको छहारीमा
विरहको गीत सुसेल्न सक्छु,
तिमी अन्धकारमा आफ्नै
ढुकढुकीदेखि डराउँछौ
म आफ्नो अराजकतासँग
पेगका पेग लगाइरहेछु
तिमी अझै ऐना हेरी
आफ्नो आँखा पढ्न हिच्किचाउँछौ ।
प्रतिक्रिया