भोजपुर । जिल्लाको षडानन्द नगरपालिकाले नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण सुरु गरेको छ । आबाल बह्मचारी षडानन्द अधिकारीले स्थापना गरेका विभिन्न मन्दिर, पाटी, पौवा तथा कुण्डहरूको संरक्षणलाई नगरपालिकाले तीव्रता दिएको छ । नगरपालिका क्षेत्रभित्र रहेका पुरातात्विक तथा मौलिक सम्पदाहरूका समष्टिगत संरक्षण तथा विकास गर्ने उद्देश्यले काम सुरु गरिएको नगरपालिका उपप्रमुख मेरीका राईले बताइन् । ‘उदाहरणको रूपमा दिङ्लामा रहेको षडानन्द अधिकारीले स्थापना गर्नुभएको रामचन्द्र मन्दिरलाई हेर्न सकिन्छ’, उनले बताइन् ।
मन्दिरको संरक्षणको लागि षडानन्द नगरपालिकाको पहलमा प्रदेश सरकारको ४० लाख लागतमा मन्दिरको वरिपरि ढुंगा छाप्ने काम भएको छ । त्यस्तै नगरपालिकाको आठ लाखमा मन्दिरको वरिपरि रथ घुम्न मिल्ने गरी पक्की बाटो निर्माण भएको उपप्रमुख राईले बताइन् । उपमेयर राईले भनिन्, ‘त्यति मात्रै होइन कैलास मन्दिर जानका लागिसमेत नगरपालिकाकै लगानीमा रेलिङसहित सिँडी निर्माण गरेका छौँ र पुरानो भत्किएको पाटीलाई पुनर्निर्माण गर्नका लागि कामको थालनी गरिसकेका छौँ ।’
आवाल ब्रह्मचारी षडानन्द अधिकारीले डेढ सय वर्षअघि मन्दिरको स्थापना गरेका थिए । लामो समयसम्म संरक्षणविहीन रामचन्द्र मन्दिरले जनप्रतिनिधि आएपछि रूप फेरेको स्थानीयले बताएका छन् । स्थानीयहरू भन्छन्, ‘नगरपालिकाले लगानी गरेर ढुंगा छापेपछि हराभरा भएको छ । आजसम्म कसैले नगरेको काम नगरपालिकाले गरेर देखायो, यसले दिङ्लाको साख र षडानन्दको इतिहासलाई जोगायो, धन्यवाद छ नगरपालिकालाई ।’
कुनै पनि कुराको निर्माण गर्नु तथा कुनै परम्परा तथा संस्कृतिको संरक्षण गर्नु चुनौती हुँदाहँुदै पनि नगरपालिकाको पहलमा भएको यो काम सराहनीय भएको स्थानीय टेकबहादुर जिसीले बताए । जिसीले भने, ‘चुनौतीका बाबजुत म आफैँ निर्माण समितिको अध्यक्ष भएर यो काम गरेँ, सफलतापूर्वक सम्पन्न हुनेछ । जसले गर्दा बालाचर्तुदशी तथा रामनवमी मेलामा आउने भक्तजहरूलाई सहज हुनेछ’, उनले थपे, ‘षडानन्द नगरपालिकाले यही रफ्तारमा काम गरे गुठी र मन्दिरलाई व्यवस्थित बनाएर लैजानेमा म ढुक्क छु ।’
षडानन्द नगरपालिका क्षेत्रभित्र रहेका पुराना ऐतिहासिक सम्पदा संरक्षण गरी पर्यटकीय गन्तव्य निर्माण गर्न जीर्ण सम्पदा संरक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, ‘पहिला पर्यटक आउँदा हेर्नसमेत सक्ने स्थिति थिएन अब त पर्यटक दिङ्ला आए एक हप्ता रमाउन सक्छन् ।’
प्रमुख प्रशासकिय अधिकृत कोइरालाका अनुसार रामचन्द्र मन्दिरको आसपासमा रहेका सीता कुण्ड, हनुमान कुण्डलगायत कुण्डहरू स्थापना गर्नका लागि नक्सासहित योजना बनिसकेको र कामसमेत सुरु भइसकेको छ । १९३२ सालमा षडानन्दले खोलेको संस्कृत पाठशाला सञ्चालनका लागि गुठीको नाममा राखिएको जग्गा खोजी गर्ने काम समेत नगरपालिकाको अगाडि बढाएको छ । जसको लागि गुठीको जग्गा अतिक्रमण गरी बनाएका घरटहराहरू नगरपालिकाकै सक्रियतामा भत्काउन सुरु गरेको छ ।
बालागुरु षडानन्द अधिकारीले दिङ्ला बजार आसपासमा नर्मदेश्वर शिवालय, रामचन्द्र मन्दिर, सीता कुण्ड, हनुमान पोखरीलगायत १ सय ८ विभिन्न प्रजातिका वनस्पति रहेको बगैंचा निर्माण गरेका थिए । ती सम्पदाहरूको संरक्षण गर्नका नगरपालिकाले सुरु गरेको छ । जसमा सीता कुण्ड, हनुमान कुण्डलगायत संरक्षणका लागि नक्सा तयार भइसकेको समेत नगरपालिकाले जनाएको छ ।
१० वर्षे द्वन्द्वको चपेटामा परेको गुठी संरक्षणमा कसैले ध्यान नदिएका कारण जीर्ण बनेका भौतिक संरचना ०७२ सालको भूकम्पले भत्काएपछि संरक्षणविहिन जस्तो बनेको मन्दिर परिसरमा भौतिक संरचना पुनर्निर्माण कार्य थालिएको छ । भौतिक संरचना पुनर्निर्माणले सीताराम गुठी परिसरको अनुहार फेरिँदै आएको छ ।
‘षडानन्द अधिकारी तथा दिङलाको साख जोगाउन ‘तन, मन र धन लगाएर पुरातात्विक तथा मौलिक सम्पदाहरूको संरक्षण तथा सम्बद्र्धन गर्न सकिन्छ, जसको लागि नगरपासी सबैको सहयोग अपरिहार्य रहेको छ’, षडानन्द नगरपालिका–४ का वडाध्यक्ष किसान राईले भने । नगर उपप्रमुख मेरिका राईले जिल्लाका आन्तरिक वा बाह्य पर्यटकका लागि आकर्षक बन्ने स्थान सहितको योजना अघि बढाएको बताए । नगरपालिका एक्लैले सम्पदाहरूको संरक्षण गर्न असम्भव भएकाले स्थानीयहरूले त्यसको संरक्षणमा साथ र सहयोग गर्नुपर्ने नगरपालिकाका जनप्रतिनिधिहरूको भनाइ छ ।
नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि आव ०७६÷७७ मा निर्माण सम्पन्न गर्ने गरी रुद्राक्ष, योगमाया, यलम्बर र वुद्धको स्टाच्यु सहितको पार्क, बालउद्यान पार्क निमार्ण गर्र्ने लक्ष लिएको जनाएको छ । जसका लागि ठाउँहरूको पहिचान सम्पन्न भइसकेको र आर्थिक वर्षको सुरुबाट नै त्यसको काम सुरु हुने नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया