रौतहट । १७ असारको बिहानै इलाका प्रहरी कार्यालय मौलापुरमा खबर आयो । घरमा आमासँगै सुतिरहेकी चार वर्षिया बालिका लक्ष्मी बेपत्ता भइन्, खोजी दिनुप¥यो भनेर । करिब साढे चारबजे खबर आएपछि प्रहरी मौलापुर नगरपालिका–५ रामकिशोरको घर पुग्यो । उनै रामकिशोरका ५ सन्तान मध्येकी कान्छी छोरी लक्ष्मी हराएकी थिइन् ।
प्रहरीका जिल्ला र प्रदेश प्रहरीका इकाइ बालिकाको खोजीमा जुटे । हुलियाका आधारमा भारतीय सीमामा समेत चेकजाँच तीव्र बनाएर लक्ष्मीको खोजी जारी राखियो । तर, प्रहरी गएको करिब एक घण्टामै स्थानीय फगुनी राय यादवको माछा पोखरीमा एउटा बच्चाको लाश पानीमा तैरिरहेको खवर प्रहरीले पायो । शौच गर्न गएका स्थानीयले सो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालिका खोजी गरिरहेको प्रहरी र परिवारका सदस्य गएर हेर्दा शव लक्ष्मीकै भएको खुल्यो । शव फेला परेपनि हत्या कसले र किन ग¥यो भन्ने खुल्न सकेन् । पोष्टमार्टम रिपोर्टले हत्यापछि मात्र पानीमा फालेको देखाएपछि प्रहरीले अनुसन्धानलाई निर्मम रूपमा सुरु ग¥यो ।
अनुसन्धानकै क्रममा प्रहरीलाई एक सूचना हात लाग्यो । मृतक लक्ष्मीको जेठ १९ गते २५ लाख रुपैयाँको जीवन बिमा भएको भन्ने खवर । ‘कसैमाथि शंका छ भनेर रामकिशोरलाई सोध्दा एक जना ब्यक्तिको नाम किटेर भनेका थिए,’ रौतहट प्रहरीका डिएसपी नवीन कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने । त्यहीँबाट शंका लागेर निर्ममपूर्वक अनुसन्धान गरेपछि हत्याको डरलाग्दो पाटो खुलेको उनले बताए । ‘अनुसन्धान गर्दै जाँदा छोरीको हत्या बाबुले गरेको देखियो । त्यसको कारण रकम भएको खुलेको छ’, डिएसपी कार्कीले भने । प्रहरीसँगको बयानमा रामकिशोरले रकमको लागि हत्या गरेको स्वीकार गरेका छन् । २५ लाख रुपैयाँका लागि उनले छोरीको हत्या गरेको साबिती बयान दिएका छन् ।
घटना शंकास्पद र रहस्यमय देखिएपछि जिल्ला प्रहरी प्रमुख भुपेन्द्र खत्रीले सोही दिन डिएसपी कार्कीको कमान्डमा दुईजना प्रहरी निरीक्षकसहित सात सदस्यीय अनुसन्धान टोली गठन गरेका थिए । मृतक लक्ष्मीको २०७६ जेठ १९ गते २५ लाख रुपैयाँको जीवन बिमा भएको थियो । प्रभु लाइफ इन्स्युरेन्स गरुडा उप शाखाबाट उनको बिमा भएको हो । बाबु रामकिशोरले योजनाबद्ध रूपमा बिमा गराई छोरीको हत्या गरेको निष्कर्ष प्रहरीको छ ।
आरोपी रामकिशोरले ५ सन्तानमध्ये सबैभन्दा कान्छी सानी छोरीको मात्र जीवन बिमा गराउनु, जीवन बिमाको रकम अस्वभाविक रुपमा आर्थिक हैसियतभन्दा ठूलो हुनु, घरबाटै रहस्यमय तवरबाट हराउनु, सो रात बाबुका गतिविधि शंकास्पद देखिनु र उनको बयान फरक भएपछि अनुसन्धान उनमै केन्द्रित भएको थियो । प्रहरीले बिहीबार रामकिशोरलाई गौरबाट पक्राउ गरेर कडिकडाउ गरेपछि उनले घटनामा संलग्नता र सहयोगीको खुलासा गरेका छन् । प्रहरीसँगको बयानमा घरमा निदाइरहेकी छोरीलाई मध्यरातमा आफैँले काँधमा बोकी पोखरीको डिलसम्म लगेको बताएका छन् । ‘त्यहीँ घाँटी थिचेर हत्या गरेँ र शव पोखरीमा फालेँ’, उनले प्रहरी बयानमा भनेका छन् ।
बिमा रकम प्राप्तगर्ने योजनाअनुसार हत्या गरेको उनले स्वीकारेका छन् । सुरुमा ३० लाखको बिमा गराउन चाहेको तर बिमा कम्पनीले ३० लाखको गर्न आमा वा बाबुमध्ये एक जनाको समेत ३० लाखको बिमा हुनु पर्ने कुरा बताएपछि २ दिन पछि २५ लाखको बिमा गराएको अनुसन्धानबाट देखिएको छ । प्रहरी अनुसन्धानमा जीवन बिमा गराउने अभिकर्ता धर्बेन्द्र यादवले रामकिसोरलाई उपाय सिकाएको खुलेको छ । उनी लक्ष्मीको बिमाको प्रस्तावक पनि हुन् । प्रहरीले मुख्य अभियुक्त रामकिसोर र बिमा एजेन्ट धर्बेन्द्र यादव दुवैलाई मुलुकी अपराध संहिता २०७४, ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी शुक्रबार म्याद थप गरेको छ । धर्बेन्द्र भने हाल फरार रहेका छन् ।
प्रतिक्रिया