काठमाडाैँ । रौतहटमा एक ब्यक्तीले आफ्नै चार बर्षीया छोरीको हत्या गरेका छन् । जीवन बीमा कम्पनीबाट पाउने रकमको प्रलोभनमा अफ्नै बुबाले नाक मुख थुनेर छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
मौलापुर नगरपालिका–६ का रामकिशोर राय यादवले चार वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेको स्वीकार गरेका छन् । गत असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी बालिकाको शव भोलिपल्ट बिहान गाँउकै पोखरीमा फेला परेको बताइएको छ ।
घटनाको अनुसन्धानका क्रममा राम किशोरको गतिविधि शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । यादवले राति आमासँगै सुतिरहेको अवस्थामा छोरीलाई उठाएर लगी हत्या गरेर पोखरीमा फालेका थिए । बीमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेर छोरीको हत्या गरेको प्रहरी समक्ष उनले बयान दिएका छन् ।
छोरीको हत्यारा यादवलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले बताएको छ । गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा गत १९ जेठमा यादवले छोरी लक्ष्मीको २५ लाखको जीवन बीमा गराएका थिए । हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुसार नै बीमा गराएको अनुसन्धानमा खुलेको छ ।
प्रतिक्रिया