लमही । दाङमा कुमालहरुको पहिचान बोकेको माटोका भाँडा बनाउने पेशा लोप हुनथालेको छ । पुर्खाले गर्दै आएको माटोका भाँडा बनाउने पेशाप्रति युवाहरुको चासो घट्दा पेशा नै सङ्कटमा पर्ने खतरामा गएको कुमाल अगुवा प्रेम कुमालले बताए ।
दाङको प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिए पनि पछिल्लो समय यो पेशा लोप हुने अवस्थामा छ । ‘लामो समयदेखि हामी वृृद्धवृद्धाले बनाउँदै आएका छौँ, अब हामीले खटिएर काम गर्न सक्दैनौँ, उनले भने, ‘युवाहरुले पनि यो पेशा अँगालेका छैनन्, जसले गर्दा अहिले लोप हुने अवस्थामा पुगेको छ ।’
युवाहरुलाई माटोका भाँडा बनाउने पेशाप्रति आकर्षित गराउन विभिन्न तालीम प्रदान गरिएको भए पनि सिकेको कुरा व्यवहारमा नउतार्दा पेशा नै सङ्कटमा पर्ने खतरा रहेको अर्का थारू अगुवा महादेव कुमालले बताए । ‘हामीले छोराछोरीलाई माटोको भाँडा निर्माण गर भन्छौँ, उनले भने, ‘उल्टै उनीहरुले हामीलाई मलाई के माटोका भाँडा बनाउने जस्तो ठान्नुभयो भनेर थर्काउछन् ।’
अहिले पनि बजारमा माडाका भाँडाको माग हुने गरेको भए पनि त्यही अनुसार माटोका भाँडा तयार गर्न नसकिएको उनको भनाइ छ । दाङको तुलसीपुर–७ प्रसेनीमा करीब ३०० कुमाल समुदायको बसोबास छ । ती कुमाल समुदायले पुर्खादेखि नै माटोका भाँडा बनाउने पेशा अँगाल्दै आएका थिए । अब युवालाई माटोका भाँडा निर्माण गर्नेतर्फ प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा कुमाल युवा दीपक कुमालले बताए ।
प्रतिक्रिया