जिल्लाका महिला असुरक्षित

सल्यान । जिल्लाका महिलाहरू असुरक्षित हुने गरेको पाइएको छ । जिल्लामा बलात्कार, बहुविवाह, घरेलु हिंसा लगायतका घटनामा वृद्धि भएसँगै जिल्लाका महिलाहरू असुरक्षित हुने गरेको पाइएको हो । मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको इन्सेक सल्यानले मंगलबार खलंगामा सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र दुव्र्यवहारका घटनामा वृद्धि भएको देखिएको छ ।

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक जिल्ला प्रतिनिधि मीना बुढाथोकीले जिल्लामा बलात्कार र बलात्कारका घटनामा वृद्धि हँुदै गएको बताइन् । जसमा महिलाहरू नै बढी पीडित हुने गरेको उनको भनाइ छ । उनले बितेको ६ महिनाको अवधिमा २० वटा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र दुव्र्यवहारका घटना भएको बताइन् । जसमा बलात्कार, बहुविवाह, घरेलु हिंसाका घटना धेरै रहेका छन् । उनले जिल्लामा भएका बलात्कार र बलात्कार प्रयासका घटनाहरु आफन्त र परिवारका सदस्यहरूबाट नै हुने गरेको बताइन् ।

इन्सेक सल्यानका अनुसार जिल्लामा ६ महिनाको अवधिमा मानवअधिकार उल्लंघनका ३९ वटा घटना भएका छन् । जसमा हत्याका दुई वटा, गिरफ्तारका ६ वटा, बालअधिकारका आठ वटा, महिला हिंसा र दुव्र्यवहारका २० वटा, आगजनीका एक वटा र जातीय विभेदका दुई वटा घटना भएका छन् ।

कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले बालबालिका, महिला र ज्येष्ठ नागरिक विभिन्न क्षेत्रबाट समस्यामा पर्ने गरेको बताइन् । उनले आर्थिक, सामाजिक लगायतका विभिन्न कारणले जिल्लामा मानवअधिकार उल्लंघनका घटनाहरू धेरै हुने गरेको बताइन् ।

यस्तै प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले मानवअधिकारको प्रतिवेदनले राज्यलाई सधँै उत्तरदायी बन्न प्रेरित गर्ने बताए । उनले हरेक नागरिको हक अधिकारको विषयमा प्रहरी प्रशासन खुलेर लाग्ने बताए ।

प्रतिक्रिया