काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विदेशी विद्यार्थीलाई बढी सिट दिएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ ।
डा. पुष्पमणि खरालले मंगलबार उक्त रिट दायर गरेका हुन् । रिटमा प्रतिष्ठानसँगै स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाइएको छ । केही समयअघि प्रतिष्ठानको शैक्षिक सत्र ०७५÷७६ को एमडी, एमएस, एमडिएस लगायतका विषय अध्ययनका लागि सूचना प्रकाशित भएको थियो ।
उक्त सूचनामा ऐन विपरित हुनेगरी केही विषयमा नेपाली विद्यार्थीलाई भन्दा विदेशी विद्यार्थीहरूलाई धेरै सिट छुट्याइएको थियो । ‘इन्टरनल मेडिसिन र पेडियाट्रिक्समा ५ मध्ये ३ सिट विदेशीका लागि छुट्याएको छ । एनेस्थेसियोलोजी तथा क्रिटिकल कियर मेडिसिनमा पनि एक तिहाइभन्दा बढी अर्थात ११ मध्ये ४ सिट विदेशीलाई छुट्याएको छ ।
यता सर्जरीमा त झन् ६ मध्ये ४ सिट विदेशीका लागि छुट्याएको छ । यस्तै हेड एन्ड निक सर्जरीमा पनि ४ मध्ये २ सिट विदेशीका लागि छुट्याएको छ, यो ऐन विपरित हो । यही निर्णय खारेजीको माग गर्दै रिट हालेको हुँ,’ डा. खरालले भने ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ को परिच्छेद ६ को १७ (५) ले स्नातक तथा स्नात्तकोत्तर तहका लागि तोकिएको कुल सिट संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाईभन्दा बढी हुने छैन भन्ने उल्लेख छ । तर प्रतिष्ठानले उक्त नियमको उल्लंघन गर्दै मुख्य विषयमा विदेशी विद्यार्थीलाई करिब ६० प्रतिशतभन्दा बढी भर्ना गरी नेपाली विद्यार्थीलाई चाख नभएको सिट छुट्याएको डा. खरालले बताए ।
रिटमा नेपाली विद्यार्थीले आफूले नै रोजेको विषय पढ्न पाउने अधिकारबाट बञ्चित गरिएको भन्दै ऐन बमोजिम सबै विषयमा नेपाली विद्यार्थीलाई छुट्याइएको कोटामा भर्ना गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । डा. खरालले दायर गरेको रिटमा अन्तरिम आदेशको माग गरेका छन् ।
प्रतिक्रिया